प्रियंका गान्धीमाथि हातपात - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रियंका गान्धीमाथि हातपात



बीबीसी – कांग्रेस महासचिव प्रियंका गान्धीले आफूलाई शनिबार लखनउमा महिला प्रहरीले घाँटीमा समातेर हातपात गरेको आरोप लगाएकी छन् ।

उनका अनुसार नागरिकता संशोधन कानुनको विरोध गर्ने अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा उनी गइरहेको बेलामा रोक्ने प्रयास भएको थियो र यही क्रममा हातपात भएको हो ।

प्रहरीले भने सो कुराको खण्डन गरेको छ । यस्तै सत्तारुढ दल भाजपाका कार्यकर्ताले पनि प्रियंकाको भनाईलाई नौटंकीको संज्ञा दिएका छन् । प्रियंका ७६ वर्षीय पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जान लाग्दा सो घटना भएको बताइएको छ ।

दारापुरीलाई यसै हप्ता नागरिकता संशोधन कानुनको विरोध गरेकोमा गिरफ्तार गरिएको थियो ।

प्रियंकाले आफ्नो फेसबुकमा एउटा भिडियो पनि पोस्ट गरेकी छन् । त्यसमा उनी पैदल हिंडिरहेकी छन् र साथमा कंग्रेसका कार्यकर्ता पनि छन् । यो भिडियोको साथमा प्रियंकाले लेखेकी छन्,“उत्तर प्रदेश प्रहरीको यो के शैली हो ? हामीलाई कहिँ जान आउन पनि रोकिरहेको छ । म अवकासप्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एसआर दारापुरीको घर गइरहेको थिएँ ।

उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता कानुनको शान्तिपूर्ण विरोध गरेकोमा घरबाट उठाएको थियो । मलाई बलपूर्वक रोकियो र महिला प्रहरीले मेरो घाँटीमा समातेर तानिन् । तर, मेरो निश्चय अटल छ । म उत्तर प्रदेशमा प्रहरी दमनको शिकार भएका हरेक नागरिकको साथ खडा छु ।”

उनले अगाडि लेखेकी छन्,“भाजपा सरकार कायर हरकत गरिरहेको छ । म उत्तरप्रदेशको प्रभारी हुँ र उत्तर प्रदेशमा कहाँ जाने भन्ने कुरा भाजपा सरकारले तय गर्ने होइन ।”