अमेरिकाबाट ११५ नेपाली निष्काशित - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

अमेरिकाबाट ११५ नेपाली निष्काशित



बीबीसी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा ११५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्।

बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ।

ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की भन्छन्: “हाम्रो अनुमानमा आठदेखि दश हजार नेपाली अमेरिका पुग्ने बाटोमा रहेका छन्।”

अनुसन्धानलाई सघाउन जानकारी
नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेपछि मात्र अमेरिकाले निष्काशन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो।

कार्की भन्छन्: “नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भन्दै त्यस्तो जानकारी दिने गरिएको हो।”

“यस बीचमा हामीले जुटाएका विवरण र फर्किएकासँग लिइएका बयानका आधारमा गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको हो।”

निष्काशन गरेर पठाइएका नेपालीहरू अधिकांश मानव तस्करमार्फत् अमेरिका पुग्नेहरू छन्।

किन विमान चार्टर्ड गरियो?
सहजै नेपाल फर्कन नचाहनेहरूलाई चार्टर्ड विमानको व्यवस्था गर्ने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

फर्काइएकाहरूलाई बुझ्न काठमाण्डू विमानस्थल पुगेका ब्यूरोका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले ती पाँच नेपालीहरूको हात, खुट्टा र घाँटी बाँधिएको देखेको बीबीसीलाई बताए।

रेग्मीले भने: “लाखौँ रुपैयाँ गुमाएको र थुप्रै महिना जेलमा बिताएका कारण उनीहरू विक्षिप्त देखिन्थे।”

“त्यही भएर व्यावसायिक वायुसेवाले ल्याउन नमानेका कारण चार्टर्ड विमानमा पठाएको देखिन्छ।”

प्रहरीको यो भनाइको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका बताइएको छ।

कष्टकर मार्ग
कम्तीमा छ महिनाको कष्टकर र त्रासदीपूर्ण बाटोबाट अमेरिका पुग्ने बित्तिकै समातिनेहरू पछिल्लो समय निष्काशनमा पर्ने गरेको बताइएको छ।

मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्‍याउने गरेको प्रहरी विवरणले देखाउँछ।