के भारत मृत्यदण्डतर्फ जाने तयारी गर्दैछ ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

के भारत मृत्यदण्डतर्फ जाने तयारी गर्दैछ ?



बीबीसी- सन् २०१२ मा भारतको राजधानी दिल्लीमा एउटा बसमा एक महिलाको बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर भएका चार जनालाई अब केही दिनभित्र मृत्युदण्ड दिइँदै छ ।

दोषी ठहर भएका चारमध्ये एक जनाले गरेको अपील त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनीहरूलाई मृत्युदण्ड दिन लागिएको हो ।

भारतीय अदालतले गम्भीर अपराधको हकमा मृत्युदण्डको सजाय सुनाउने क्रमलाई निरन्तरता दिँदै आएका छन् । हुन त सजाय सुनाइए पनि सन् २०१५ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

अरू देशले भारतले भन्दा बढी मृत्युदण्ड दिइरहेका छन् । चारवटा देशले सन् २०१८ मा सबैभन्दा बढी संख्यामा मृत्युदण्ड दिएको देखिन्छ । तर, विश्वभरि समग्रमा मृत्युदण्ड पाउनेको संख्यामा चाहिँ कमी आइरहेको छ ।

अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार गतवर्ष विगत एक दशकयताकै सबैभन्दा कम मृत्युदण्ड दिइएको छ ।

कस्तो अपराधमा मृत्युदण्ड ?

भारतमा अधिकांश मृत्युदण्डको सजाय हत्या र यौन हिंसासहित हत्याका घटनामा दिने गरिएको छ । सन् २०१८ मा हत्याका लागि ४५ र यौन हिंसासहित हत्याको घटनामा ५८ वटा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

इन्डियन पिनल कोड (१८६०) अर्थात् भारतीय दण्ड संहितामा उल्लेख गरिएअनुसार विभिन्न प्रावधानअन्तर्गत मृत्युदण्डको सजाय दिइन्छ । मृत्युदण्डको सजायसम्बन्धी अन्य २४ वटा प्रान्तीय तथा संघीय कानुन पनि छन् ।

दिल्लीस्थित नेसनल ल युनिभर्सिटीका अनुसार सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेयता भारतमा दिइएका मृत्युदण्डमध्ये अधिकांश उत्तर प्रदेशमा दिइएको छ ।

उत्तर प्रदेशले कुल ३ सय ५४ मृत्युदण्ड दिएको छ । त्यसपछि दोस्रो स्थानमा रहेको हरियाणामा ९० र मध्यप्रदेशमा ७३ वटा मृत्युदण्ड दिइएको छ ।

तथ्यांकअनुसार सन् २०१८ मा मात्रै १ सय ६२ वटा मृत्युदण्डसम्बन्धी नयाँ सजाय सुनाइएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा र झन्डै दुई दशकयताको समयावधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

यौन हिंसासहितको हत्याको घटनामा भारतीय अदालतले सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाउने संख्यामा ३५ प्रतिशतले वृद्धि भएको छ । कानुनमा ल्याइएको परिवर्तनले पनि आंशिक रूपमा यो संख्यामा वृद्धि भएको हो ।

गत वर्ष पाकिस्तानमा २ सय ५० वटा र बंगलादेशमा २ सय २९ वटा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, विश्वभरको कुरा गर्दा सन् २०१७ मा भन्दा २०१८ मा केही कमले मृत्युदण्डको सजाय पाएका छन् । सन् २०१७ मा २ हजार ५ सय ९५ जनाले मृत्युदण्ड पाएका थिए भने सन् २०१८ मा २ हजार ५ सय ३१ जनाले पाएका छन् ।

सबैभन्दा बढी मृत्युदण्ड कुन देशले दिन्छ ?

मृत्युदण्डको विरोधमा अभियान चलाउने एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा मृत्युदण्ड पाउनेको संख्यामा ३० प्रतिशतभन्दा बढीले कमी आएको देखिएको छ । सन् २०१८ मा ६ सय ९० वटा मृत्युदण्ड दिइएको पाइएको छ ।

सन् २०१८ मा कुलमध्ये करिब ८० प्रतिशत मृत्युदण्ड इरान, साउदी अरब, भियतनाम र इराकमा दिएको पाइएको छ । एउटा आधिकारिक टिप्पणीका क्रममा भियतनामले गत वर्ष ८५ जनालाई मृत्युदण्ड दिएको कुरा गत नोभेम्बरमा पुष्टि ग¥यो ।

यसअघिका वर्षमा कतिलाई मृत्युदण्ड दिइन्थ्यो भन्नेबारे उसले बताउने गरेको थिएन । सन् २०१७ मा एसिया प्रशान्त क्षेत्रमा मृत्युदण्ड दिइएको संख्यामा ४६ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखियो । जापानमा १९, पाकिस्तानमा कम्तीमा १४ र सिंगापुरमा १३ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २००९ पछि थाइल्यान्डले पहिलो पटक मृत्युदण्ड दिने क्रमलाई पुनः सक्रिय बनायो । संयुक्त राज्य अमेरिकामा पनि सन् २०१७ मा २३ जनालाई मृत्युदण्ड दिइएकोमा अघिल्लो वर्ष २५ जनालाई मृत्युदण्ड दिइयो ।

यसमा चीन समेटिएको छैन । जहाँ एम्नेस्टी इन्टरनेसनलका अनुसार हजारौंलाई मृत्युदण्ड दिइएको हुन सक्छ, तर तथ्यांक गोप्य राखिन्छ ।

सिरियामा जारी युद्धको अर्थ त्यहाँ धेरैलाई मृत्युदण्ड दिइएको हुन सक्छ । लाओस र उत्तर कोरियाले दिने मृत्युदण्डबारे चाहिँ कुनै सूचना उपलब्ध छैन ।