तनावग्रस्त बन्यो भारत: आठ वर्षीय बालक सहित दर्जनौँको ज्यान गयो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

तनावग्रस्त बन्यो भारत: आठ वर्षीय बालक सहित दर्जनौँको ज्यान गयो



एजेन्सी- सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ।

शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो।

उत्तर प्रदेशमा मात्र ११ जनाको ज्यान गइसकेको छ। जसमध्ये वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १० जनाको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो।

‘शुक्रबार १० जना मारिएका छन्। उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो,’ उत्तर प्रदेश प्रहरी प्रवक्त शिरिष चन्द्रको भनाइ एएफपीले उधृत गरेको छ।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ।