मोदी सरकार हिम्मत भए जनमत संग्रह गर: ममता बनर्जी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मोदी सरकार हिम्मत भए जनमत संग्रह गर: ममता बनर्जी



काठमाडौं- तृणमूल कङ्ग्रेसकी अध्यक्ष तथा भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले नागरिकता संशोधन ऐन (सिएए) र राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को सवालमा राष्ट्रसंघको रोहबरमा जनमत संग्रह गराउन नरेन्द्र मोदी नेतृत्वको सरकारलाई चुनौती दिएकी छन्।

लोकतन्त्रमा ‘जनमत’ नै सर्वोच्च शक्ति भएको उल्लेख गर्दै बेनर्जीले भनिन्, ‘सिएए र एनआरसीको विरोधमा कैयौं दिनदेखि हजारौं जनता सडकमा आएका छन्, पश्चिम बंगाल मात्र होइन, नयाँदिल्लीलगायत सम्पूर्ण भारत यो विषयमा आन्दोलित भइरहेको छ। तर, भारतीय जनता पार्टी (भाजपा) को मोदी सरकारले यसलाई कम आँक्ने प्रयास गरिरहेको छ।’

सिएए र एनआरसी मुद्दाको छिनोफानोका लागि परि आएमा जनमत संग्रहमा जान पनि तयार हुनुपर्ने उनको धारणा छ। ‘यदि भाजपासँग आँट र हिम्मत छ भने किन डराउनुपर्‍यो? जनमत संग्रहमार्फत् यी मुद्दाको छिनोफानो गर्दा भइहाल्छ नि!’ उनले कोलकातामा विरोध र्‍यालीका सहभागीलाई सम्बोधन गर्दै उनले भनिन्। जनमत संग्रहबाट आएको परिणाम आफू र आफ्नो पार्टीलाई स्वीकार्य हुने उनको भनाइ थियो।

सिएए र एनआरसीको विरुद्घमा शान्तिपूर्ण ढंगले विरोधमा उत्रिएका जनतालाई मोदी सरकारले प्रहरी बल प्रयोग गरी दमन गरेको आरोप उनले लगाइन्। ‘दिल्लीमा कलेजभित्रै पसेर विद्यार्थीमाथि गोली प्रहार गरिएको छ, निहत्था सर्वसाधारणमाथि लाठी बर्साइएको छ, यो लोकतन्त्रमाथिको उपहास हो,’ उनले सम्बोधनका क्रममा भनिन्।

दार्जिलिङ जिल्लाको सिलिगुडीबाट प्रकाशित हिमालय दर्पणका अनुसार ममता बेनर्जी नेतृत्वको तृणमूल कङ्ग्रेसका नेता–कार्यकर्ताले चार दिनयता सिएए र एनआरसीको विरोधमा कोलकातालगायत पश्चिम बंगाल राज्यका विभिन्न सहरमा दिनहुँ प्रदर्शन गर्दै आएका छन्। कोलकातामा हरेक दिन हुँदै आएको र्‍यालीमा ममता स्वयं पनि सहभागी हुँदै आएकी छन्।