लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान घोडाघोडीमा सम्पन्न - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान घोडाघोडीमा सम्पन्न



सुखड ,कैलाली । यहि मंसिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मंगलबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ ।

“समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता” भन्ने नाराका साथ वडा नम्बर १ बाट शुरु भएको यो अभियान मंगलबार वडा नम्बर १० मा एक कार्यक्रम गरी समापन गरिएको हो ।

अभियान सफल हुनु सकारात्मक कुरा भएपनि समुदायमा बिद्यमान हिंसा, कुरीती, कुसंस्कारको अन्त्य गर्न अभियान र दिवसले मात्रै नपुग्ने सरोकारवालाहरुले बताएका छन् । लैङ्गिक हिंसा भनेको के हो ? भन्ने कुरापनी कतिपयलाई थाहा नहुने हुँदा नगर सरकारले यस सम्बन्धि कार्ययोजना निर्माण गरी समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।

वडा नम्बर १० का वडा अध्यक्ष भिम बहादुर बमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगर उप–प्रमुख प्रेम कुमारी थापा रहेकी थिईन । कार्यक्रममा बोल्दै नगर उप–प्रमुख थापाले घोडाघोडीमा यो अभियान निकै राम्रो ढंगबाट सफल भएको बताईन । समाजको सकारात्मक रुपान्तरणको लागि नगर सरकार लागि परेको भन्दै उनले एकै चोटी ठुलो परिवर्तन नहुने धारणा राखिन ।

महिलाहरुले क्षमता बिकास नगरे सम्म हिंसा न्युनीकरण नहुने भन्दै नगरपालिकाका शाखा अधिकृत उमेश राज रेग्मीले समुदायमा महिला हिंसा बढी हुने गरेको बताए । रेग्मीले नगर सरकार समाजको सकारात्मक परिवर्तनका लागि सधै तयार रहेको र समुदाय स्तरबाट पनि यसको प्रयास गरिनु पर्ने धारणा राखे ।

अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशीले बताईन । अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने जोशीले बताइन् ।

घोडाघोडी नगरपालिकाको आयोजना तथा हाईवे संचारिका समुह र युवा संजालको समन्वयमा घोडाघोडी नगरपालिकाका १२ वटै वडाहरुमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरिएको थियो ।

बेस कैलाली , वल्ड भिजन ,स्टिम र सि एस एस डि संस्थाको सहयोग रहेको समापन कार्यक्रमको संचालन हाईवे संचारिका समुहकि सचीव इन्दु केसिले गरेकी थिइन् ।