प्रचण्डमाथि छानबिन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रचण्डमाथि छानबिन



काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् ।

१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन्।

अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै हुन्छ। तत्कालिन माओवादी पार्टी र जनयुद्धको नेतृत्वको हैसियतले जनयुद्धकाक्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु।’ ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा जे भयो त्यो सबै बिर्सौं’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको अध्यक्ष दाहालले स्मरण गराए। ‘त्यति बेला सबै बिर्सौं भन्ने प्रस्ताव आएको थियो।

तर मैले यसो गर्नु हुँदैन भने,’ दाहालले भने, ‘किनकी फेरि गलत ढंगले मानिसहरुको हत्या, बलात्कार नहोस्। हत्या, बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै त्यसो गर्न हुँदैन भनेको हुँ।’

आफूमाथि पनि धेरै मुद्दा रहेको र त्यसमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको दाहालले बताए। ‘म माथि पनि धेरै मुद्दा छन्, ती झुठा छन्, सही छन्, पछि थाहा हुने कुरा हो। यदि म दोषी नै ठहरिन्छु भने कारबाही भोग्न तयार छु।’

सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने र त्यसमा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बनेको पनि दाहालले बताए। कान्तिपुर दैनिकमा खबर छ