नेपाली पर्यटन वर्षको क्यानडाको बसमा प्रचार - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपाली पर्यटन वर्षको क्यानडाको बसमा प्रचार



क्यानडा । क्यानडाका सिटी बसमा नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थलका तस्बिरहरू राखी प्रचार प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाइ तथा नेपाल र क्यानडामा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो । मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यस्थलहरु राखिएका छन् ।

दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताए । शनिवार क्यानडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्बिर अङ्कित सिटी बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटी बसको प्रचारप्रसारले भ्रमण वर्षलाई सघाउ पुर्‍याउने बताए । आफू पनि भिजिट नेपाल २०२० का बिच सपरिवार नेपाल जाने बताउँदै उनले अरू क्यानेडियन पर्यटकहरूलाई पनि नेपाल जान आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्च, टिपिएन नेपाल, गोइङ्ग नेपाल, एभिन्यूज खबर सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयको सहकार्यमा यसरी पर्यटन प्रवर्द्धनको प्रचार प्रसार सुरु गरिएको हो । क्यानडाका सार्वजनिक बसमा भिजिट नेपालको लागोसहित सुन्दर पर्यटकीय स्थलहरूको फोटो देख्दा क्यानेडियन नागरिकहरू नेपालका बारेमा सोध्न थालेका छन् । क्यानडामा रहेका गैरआवासीय नेपालीहरूले यो अभियानको प्रशंशा गरेका छन् ।

विश्वमा नेपाल चिनाउने अभियन्ताका रूपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रूपमा करिब १६ लाख बढी रुपैयाँ खर्चेर यो अभियान थालेका हुन । क्यानडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सबैलाई अनुरोध गरेका छन् । प्रचार प्रसारका लागि क्यानडा पुगेका एभिन्यूज खबरका सुदूरपश्चिम प्रदेश प्रमुख हिम्मत रावलले क्यानडामा थालिएको प्रचारले क्यानेडियन तथा अमेरिकी नागरिकलाई नेपाल जान लोभ्याउने बताए ।