६ नयाँ उद्योग खुल्दै - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

६ नयाँ उद्योग खुल्दै



काठमाडौं – हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ ६ वटा उद्योग स्थापना गरिने भएको छ। नयाँ उद्योग सञ्चालनमा ल्याउन पक्रिया सुरु गरिसकेको बताइएको छ।

हेटौंडा औद्योगिक क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका २८ उद्योगमध्ये यस वर्ष १८ वटा उद्योग सञ्चालनमा आउने औद्योगिक व्यवस्थापन क्षेत्रका कायममुकायम व्यवस्थापक राजेन्द्र प्रसाद कँडेलले बताए।

न्यु मकवानपुर खाद्य उद्योग, टिएसएन प्लास्ट, थ्री स्टार इन्डस्ट्रिज, एपेक्स फुटवेयर, जोशी अटो वक्र्स, मदरल्यान्ड एग्रिकल्चरलगायत उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्ने भएका छन्।

हेटौंडा औद्योगिक क्षेत्रमा यसअघि जग्गा भाडामा लिइ उद्योग निर्माण तथा सञ्चालन नगरेका उद्योगीलाई औद्योगिक व्यवस्थापन कार्यालयले सञ्चालन गर्न दबाब दिएपछि उद्योग सञ्चालन हुने भएका हुन्। कार्यालयले औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा भाडामा लिएर जग्गामात्रै ओगटेर बस्ने उद्योगलाई कारबाही अघि बढाएपछि उद्योग स्थापनाको काम सुरु भएको हो।

जग्गा सम्झौता र निर्माणाधीन उद्योगमध्ये साविकको औद्योगिक क्षेत्रमा मात्रै १६ वटा उद्योग निर्माणाधीन छन्। जिल्लाको औद्योगिक क्षत्र–२ (विस्तारित औद्योगिक) मा अरु १८ उद्योग निर्माणाधीन रहेका औद्योगिक व्यवस्थापन क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए।

उनका अनुसार औद्योगिक क्षेत्रमा वैदेशिक लगानीमा रहेका ९ वटा उद्योगसहित १ सय २ वटा उद्योग सञ्चालनमा छन्। ६ उद्योग बन्द अवस्थामा छन्।

औद्योगिक क्षेत्रमा जग्गा सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका हेटौडा रबर उद्योग, मदरल्याण्ड एग्रिकल्चर ई.प्रालि, ग्रिनगोल्ड इन्टरनेशनल, एपेक्स फुटवेयर इन्डस्ट्रिजलगायतका २८ वटा उद्योगको लागि निर्माण सुरु गरिएको व्यवस्थापन कार्यालयले जनाएको छ। महाशक्ति सोप र नेपाल ब्रुअरीले उपयोगविहीन अवस्थामा छाडेको जग्गा फिर्ता लिएर व्यवस्थापनले थप ५ नयाँ उद्योगलाई दिन लागेको छ।