सन्दीपको कमालले टोरोन्टोको जीत - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सन्दीपको कमालले टोरोन्टोको जीत



एजेन्सी :दोश्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्स ग्लोबल टि-२० लिग क्यानडाको प्ले-अफ चरणमा प्रवेश गरेको छ।

दोश्रो चरणको खेल सकिंदा अंकतालिकामा टोरोन्टो ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक सहित तेश्रो स्थानमा रह्यो भने सोमपाल कामिले प्रतिनिधित्व गरेको विन्नीपेग हक्स ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक सहित ५ अंक सहित चौथो स्थानमा रह्यो र प्लेअफ प्रवेश गर्यो। मोन्टरियल टाइगर्स र एडमोन्टन रोयल्स भने पाँचौ र छैठौं हुँदै प्ले-अफ चरण पुग्न असफल रह्यो।

गर या मरको खेलमा टोरोन्टोको जित , सन्दिपको प्रदर्शन यस्तो रह्यो

आयोजकले कन्ट्रयाक्ट अनुसार पैसा नदीएको भन्दै मोन्टरियल र टोरोन्टोको खेलाडीहरु मैदाननै जान नमान्दा २ घण्टा ढिला सुरु भएको खेलमा मोन्टरियलले टस जितेर बलिंग रोजेको थियो।

युभराज सिंह पछिल्लो खेलमा ढाडको समस्याको कारण घाइते भए पछि उनको अनुपस्थितिमा ब्याटिंग गरेको टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार गर्यो। उसको लागि ओपनर रोडरिगो थोमसले सर्वाधिक ७० रन ( ५६ बलमा ५ चौका र ५ छक्का ) तथा हेनरिच क्लासेनले अविजित ६४ रन (३४ बलमा ४ चौका र ४ छक्का) प्रहार गरे। मोन्टरियल बलर थिसारा परेराले २ तथा निखिल दत्ता, फवाद एहमद र डिल्लन हेलिगरले १/१ विकेट लिए।

१९० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवात राम्रो गरेको मोन्टरियलले बीचको ओभर पछि लगातार विकेट गुमाउन पुग्दा १९.३ ओभरमा १५४ रनमा समेटिन पुग्यो।

१३ औं ओभरमा १०४/२ को अवस्थामा रहेको बेला मोन्टरियलको विकेट पटक सुरु भएको थियो जसपछि बाँकी ५० रन जोड्दा उसले बाँकी ८ विकेट गुमाउन पुग्यो। उसको लागि म्याथु क्रसले सर्वाधिक ३९, दिनेश चण्डीमालले ३६ रन योगदान दिए।

टोरोन्टोको बलिंगमा क्रिस ग्रिन ( ४-०-२६-३ ) र मिचेल म्याकलेनघन ( ३.३-०-२७-३ ) ले ३/३ , जेरेमी गोर्डनले २ ( ४-०-३६-२ ) तथा सन्दिप लामिछाने र सलमान नजरले १/१ विकेट लिए।

सन्दिपको बलिंग स्पेल
सन्दिपको पहिलो ओभर – ९ रन ( ० १ ० ० ४ ४ )

खेलको पाँचौ ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा सन्दिपले ९ रन खर्चेर विकेट विहिन रहे। ओभरमा २ पटक ( पहिलो र तेश्रो बल ) लबिडब्लु धरापमा कायल कोट्जरलाई पारे पनि दुवै बलमा अम्पायरले आउट दिन मानेका थिएनन्। रिप्लेमा हेर्दा कोट्जरको स्टम्पमा लागेको थियो। त्यसपछि सो ओभरको पाँचौ र छैठौ बलमा म्याथु क्रसले २ चौका प्रहार गरे।

सन्दिपको दोश्रो ओभर – ९ रन ( ० ६ १ १ ० १ )

३ ओभर पछि पुनः बलिंग गर्न आएका सन्दिपलाई श्रीलंकन ब्याट्सम्यान दिनेश चण्डीमालले दोश्रो बलमा छक्का प्रहार गरे। त्यसपछि भने सन्दिप सम्हालिएर ३ वटा सिंगल मात्र दिए।

सन्दिपको तेश्रो ओभर – ७ रन र १ विकेट ( ० ६ विकेट ० १ ० )

दोश्रो ओभर गरेको ८ ओभर पछि बलिंग गर्ने क्रममा सन्दिपको दोश्रो बलमा न्युजिल्याण्ड ब्याट्सम्यान कुग्गेलेजिनले छक्का प्रहर गरे। तर सन्दिपले लगत्तै बलमा विकेटको खाता खोले र ६ रन बनाएका कुग्गेलेजिनलाई पोइन्टमा क्याच आउट गराए। त्यसपछिको ३ वटा बलमा सन्दिपले मात्र १ रन खर्चिए।

३ ओभरको स्पेलमा सन्दिपले २५ रन दिएर १ विकेट हात पारे। यस क्रममा नेपाली स्पिनरले २ छक्का र २ चौका खाए भने १८ मध्ये ९ बलमा रन दिएनन्।

यस अघिको २ खेलमा पनि सन्दिपले १/१ विकेट लिएका थिए। ब्राम्पटन वुल्भ्स बिरुद्ध १ विकेट लिन ४४ रन खर्चेका सन्दिपले दोश्रो खेलमा मोन्टरियलसंग १ विकेट लिन २८ रन खर्चिएका थिए। ३ खेलमा कुल ११ ओभर बलिंग गरेका सन्दिपले ९७ रन खर्चीएका छन्। यस क्रममा उनले ३२.३३ को एभरेज र २२.० को स्ट्राइक रेटले बलिंग गरिरहेका छन् भने ८.८० रन प्रतिओभर खर्चिएका छन्।