चीनमा पुगेर मन्त्री यादवले देखाए यस्तो हर्कत - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

चीनमा पुगेर मन्त्री यादवले देखाए यस्तो हर्कत



पहिलोपटक मन्त्री हुँदा जिल्ला वन अधिकृतलाई शौचालयमा थुनेर चर्चामा आएका उद्योग वाणिज्य मन्त्री मात्रिका यादवले छिमेकी मुलुक चीनमा पुगेर पनि त्यस्तै फन्डा गर्न भ्याएका छन्।

गत जुनमा चीनको युन्नान प्रान्तमा दक्षिण तथा दक्षिणपूर्व एसियाली सामान प्रदर्शनी तथा लगानी मेला ०१९ आयोजना भएको थियो।

नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका उनका लागि जुन १२ को उद्घाटन समारोहमा कुर्सी छुट्याइएको थियो। नाम लेखिएको कार्ड मञ्चमा थियो। उद्घोषकले आसन ग्रहण गरिदिन माइकबाट बारम्बार आग्रह गरेकै हुन्। तर उनी गएनन्।

आसन ग्रहण मात्र नगरेका होइनन्, उनी खुन्मिङका कुनै पनि भेटघाट र दुईपक्षीय छलफलमा सहभागी भएनन्। यो खबर आज साउन २२ गतेको जनआस्था साप्ताहिकमा छापिएको छ।

धेरैले सोचे- सञ्चो नभएर आसन ग्रहणमा सहभागी नभएका होलान्, तर कुरा त्यस्तो होइनरेहछ। मन्त्रीका एकजना सहयोगीले जनआस्थालाई बताएअनुसार त्यत्रो ठूलो अन्तर्राष्ट्रिय समारोह बहिष्कार गर्नुपर्ने कारणचाहिँ अध्यागमन कार्यालयमा भएको सानो त्रुटि थियो।

विमानबाट ओर्लिएपछि यादवले भीआईपी च्यानलगेटबाट जानुपर्नेमा सामान्य यात्रुको बाटो प्रयोग गरे। फलस्वरूप उनलाई लाइनमा राखेर चेकजाँच गरियो। अध्यागमनका कर्मचारीले उनी मन्त्री भएको भेउ नै पाएनन्।

मन्त्रीले पाउने विशिष्ट कक्षको सुविधा नदिएको र आमन्त्रण गरेर अपमान गरेको भन्दै उनले त्यति ठूलो अन्तर्राष्ट्रिय समारोह बहिष्कार गरेका हुन्।