काठमाडौंको पानीमा भेटियो मानिस र जनावरको दिसा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

काठमाडौंको पानीमा भेटियो मानिस र जनावरको दिसा



साउन यूएनपार्क परिसरभित्र ज्वागलमा काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ‘पम्प स्टेसन’ बनाएको छ ।

स्टेसनले जमिनमुनिको पानी तानेर शुद्धीकरण गरी उपभोक्ताको घरमा पठाउँछ । फलामको मात्रा धेरै भएकाले पानी पिउन योग्य छैन । तैपनि उपभोक्ताकहाँ पानी पठाउनै पर्ने बाध्यता छ । दैनिक कम्तीमा दुई घण्टा पानी वितरण गरिन्छ । धाराकै पाइपबाट पठाउने पानी घरायसी प्रयोजनका लागि मात्र हुने केयूकेएल बताउँछ । घरायसी प्रयोजनका लागि मात्र भए पनि पैसा भने खानेपानीकै सरह तिर्नुपर्छ । केयूकेएल ललितपुर शाखाका जनसम्पर्क अधिकृत चिरञ्जीवी राउतका अनुसार ललितपुरमा दैनिक ९० लाख लिटर पानी बाँडिन्छ । तर यो मागभन्दा अत्यन्त थोरै हो । ललितपुरमा मात्र अझै १३ प्रतिशत जनता खानेपानी सुविधाबाट वञ्चित छन् । त्यसैले सर्वसाधारण वैकल्पिक स्रोतका रूपमा ट्यांकरको पानी, ढुंगेधारा, इनारमा निर्भर छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले यस वर्ष पानीका १ सय २ नमुना परीक्षण गरेको थियो । तीमध्ये ५४ वटा उपयोग गर्न नमिल्ने थिए । स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडेलका अनुसार ट्यांकर, ढुंगेधारा, इनार सबैतिर कोलीफर्म भेटिएको हो । ‘पानीमा दिसाजन्य किटाणु भेटिनु नै कोलीफर्म हुनु हो’, पौडेलले भने, ‘मानिस र जनावरको दिसा पानीमा मिसिएपछि कोलीफर्मका जीवाणु देखिन्छन् ।’ दूषित पानीका कारण छाला, फोक्सो, मिर्गौला, मूत्रथैलीको क्यान्सर, स्नायु प्रणालीमा असर, विस्मृति, निद्रा नलाग्ने, हात काम्ने, टाउको दुख्ने, दाँतमा दाग, मुटु र स्नायुमा असर पर्नेलगायत समस्या हुन सक्छन् ।

धेरै मानिस ढुंगेधारालाई पानीको मुख्य स्रोत मान्छन् । वलखु चिःबहालका ७३ वर्षीय बाबुकाजी महर्जन मंगलबजारस्थित पाटन दरबार स्वायरको ढुंगेधाराको पानी प्रयोग गर्छन् । त्यसको पानी सबैभन्दा चोखो र शुद्ध मान्छन् । तर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ढुंगेधाराको पानीमा अत्यधिक मात्रामा कोलीफर्म भेटिएको छ ।अन्नपूर्ण पोस्टबाट