राष्ट्रपतिको सर्वेक्षणमा ट्रम्पभन्दा मेगन रापिनो अगाडी - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

राष्ट्रपतिको सर्वेक्षणमा ट्रम्पभन्दा मेगन रापिनो अगाडी



एजेन्सी – विश्वकप फुटबलमा अमेरिकालाई जिताएकी राष्ट्रिय टोलीकी मिडफिल्डर मेगन रापिनोले एक सर्वेक्षन्मा राष्ट्रपति ट्रम्पभन्दा बढी मानिसको मन जितेकी छन् ।

राष्ट्रपति कसलाई बनाउने भन्ने उक्त सर्वेक्षणमा हालका राष्ट्रपति ट्रम्पलाई भन्दा  मेगनलाइ धेरै मानिसहरुले रुचाएपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

केही समय अगाडि अमेरिकी संचारमाध्यमले विश्वकप फुटबल खेलिरहेकी अमेरिकी राष्ट्रिय टोलीकी मिडफिल्डर मेगन रापिनोलाई विश्वकप जितेपछि के तपाइँ ह्वाइट हाउस भ्रमणको लागि जानुहुन्छ? भनेर प्रश्न गरेको थियो।

उत्तरमा मेगनले आफू ह्वाइट हाउस नजाने बताएकी थिइन्। राष्ट्रपति कार्यालय भ्रमणमा नजाने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले सुरुमा विश्वकप जित्ने अनिमात्र ह्वाइट हाउस भ्रमणको सपना देख्ने भनेर प्रतिक्रिया जनाएका थिए।

ट्रम्प र मेगनबीच टकरावको स्थिती खडा भएको अवस्थामा हालै अमेरिकी संस्था पब्लिन पोलिसी पोलिङले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्प र मेगन कसलाई समर्थन गर्नुहुन्छ भनेर सर्वेक्षण गरेको थियो।

उक्त संस्थाका अनुसार ट्रम्पभन्दा बढी मेगनलाई मानिसहरुले रुचाएका छन्। यस सर्वेक्षणमा ट्रम्पको पक्षमा ४१ प्रतिशत मत प्राप्तहुँदा मेगनको पक्षमा ४२ प्रतिशत मत प्राप्त भएको जनाइएको छ।

मेगनकै प्रभावशाली प्रदर्शनका कारण अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचाल्यो। मेगनले विश्वकप उत्कृष्ट खेलाडीको उपाधि जितिन् भने उनैले सर्वाधिक गोलकर्ताको अवार्ड गोल्डेन बुट प्राप्त गरिन्।