भारतको सानदार जित : रोहितको किर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भारतको सानदार जित : रोहितको किर्तिमान



एजेन्सी – ओपनर रोहित शर्मा र के एल राहुलले शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ ।

यस जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उता दोस्रो स्थानमा पुगेको अष्ट्रेलिया दक्षिण अफ्रिकासँगको जारी खेलमा पराजित भएमात्रै भारत शीर्ष स्थानमा रहने छ । अष्ट्रेलिया विजयी भए भारत पुन दोस्रो स्थानमा झर्ने छ ।

२ सय ६५ रनको लक्ष्य भारतले ४३.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्माले कीर्तिमानी शतक प्रहार गरे । रोहित ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनमा क्याच आउट भए । उनी ३१ औं ओभरको पहिलो बलमा राजिथाको बलमा क्याच आउट भए । रोहितले २९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरेका थिए । रोहित एकै विश्वकपमा पाँच शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

त्यस्तै अर्का ओपनर के एल राहुलले पनि १ सय ११ रनको उत्कृष्ट शतक प्रहार गरे । ४१ ओभरको अन्तिम बलमा लाथिस मलिंगाले विकेटकीपर कुशल परेराबाट क्याच आउट गराउनु अघि राहुलले १ सय १८ बलमा ११ चौका र १ छक्का प्रहार गरे । राहुलले १ सय ९ बलमा आफ्नो विश्वकपको पहिलो तथा वान डे करियरको दोस्रो शतक पुरा गरे । रोहित र राहुलले पहिलो विकेटका लागि ३०.१ ओभर सम्म १ सय ८९ रनको उत्कृष्ट शतकीय साझेदारी गरे ।

त्यस्तै कप्तान विराट कोहलीले ४१ बलमा ३ चौका सहित ३४ रनमा अविजित रहे । ऋषभ पन्त ४ रहार्दिक पान्ड्या ७ रनको योगदान दिए ।श्रीलंकाका लागि लाथिस मलिंगा,इसुरु उडना र कसुन राजिथाको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि लिड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनायो । निकै खराब सुरुवात गरेको श्रीलंकालाई अनुभबी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय महत्वपूर्ण योगदान दिए । ४९ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच आउट गराउनु अघि म्याथ्युजले १ सय २८ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरेका थिए । उनले वान डे करिअरमा प्रहार गरेका तीनै शतक भारतविरुद्ध रह्यो । विश्वकपमा उनको पहिलो शतक हो । त्यस्तै धनन्जय डी शिल्भा २९ रनमा अविजित रहे ।

एक समय ११.४ ओभरमा ५५-४ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई पाँचौ विकेटका लागि एन्जिलो म्याथ्युजले लाहिरु थारिमनेसँग १ सय २४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासे । कुलदीप यादवको ३८ ओभरको पाँचौ बलमा ठूलो सर्ट खेल्ने धुनमा रविन्द्र जडेजाबाट क्याच आउट हुनुअघि लाहिरुले ६८ बलमा ४ चौका सहित ५३ रनको महत्वपूर्ण योगदान दिए ।

श्रीलंकाले चौथो ओभरको चौथो बलमा कप्तान दिमुथ करुणारत्नेलाई १० रनमा गुमाएको थियो । उनलाई जसप्रित बुमराहले महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । बुमराहलेनै कुशल परेरालाई १८ रनमा क्याच आउट गराए ।

परेराले १४ बलमा ३ चौका प्रहार गरे । ११ ओभरको चौथो बलमा रविन्द्र जडेजाले बल बिट गराउँदै कुशल मेन्डिसलाई महेन्द्रसिंह धोनीबाट ३ रनमा स्टम्पिङ आउट गराए । अभिष्का फर्नान्डोलाई हार्दिक पान्ड्याले २० रनमा क्याच आउट गराएपछि श्रीलंका कमजोर अवस्थामा पुगेको थियो । भारतका लागि जसप्रित बुमराहले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट हात पारे । भुवनेश्वर कुमार,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र कुलदीप यादवले समान १ विकेट हात पारे ।

यदी अष्ट्रेलिया उता जारी खेलमा दक्षिण अफ्रिकासँग पराजित भए भारतले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । अष्ट्रेलिया विजयी भए भने भारतले इंग्ल्यान्डसँग सेमिफाइनल खेल्नुपर्ने हुन्छ ।