मोर्गनले भने : भारतलाई जित्दा विश्वकप जितेजस्तो भयो
एजेन्सी — इयान मोर्गनले आफ्नो टिमको वास्तविक योजनाअनुसार खेल्ने हो भने विश्वकप जित्ने सपना पूरा हुनसक्ने दाबी गरेका छन् । इंग्ल्यान्डले भारतलाई हराएयता टिमको सेमिफाइनल पुग्ने सम्भावना फेरि जीवन्त बनेको छ ।
एजबास्टनमा आइतबारको खेलअगाडि इंग्ल्यान्डले श्रीलंका र अस्ट्रेलियाको हातबाट लगातार हार बेहोरेको थियो । भारतविरुद्ध इंग्ल्यान्डको प्रदर्शन भने प्रतियोगिता सुरु हुनुअगाडि वरीयताको नम्बर एक टिम जस्तो रह्यो ।
इंग्ल्यान्डविरुद्ध ३१ रनको हारसँगै एकदिवसीय नम्बर एक टिम भारतको प्रतियोगितामा अपराजित यात्रा भने टुंगेको छ । ‘भारतमाथि प्राप्त जितमा म निकै खुसी छु,’ कप्तान मोर्गनले भने, ‘हामीले त्यस खेलमा जस्तो प्रदर्शन गर्यौं, त्यो वास्तवमै उत्कृष्ट थियो । फेरि यो जित हाम्रा लागि निकै ठीक समयमा आइपुगेको छ ।’ र भारतलाई जित्दा विश्वकप जितेजस्तै अनुभव भएको छ ।’ इंग्ल्यान्डले बुधबार डरहममा हुने आफ्नो अन्तिम लिग खेलमा न्युजिल्यान्डलाई हराएर अन्तिम चारको यात्रा निश्चित गर्न सक्नेछ ।
इंग्ल्यान्डले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । मोर्गनले दाबी गरे, ‘भारतविरुद्ध जसरी हाम्रो खेल रह्यो, त्यसले हामीलाई निकै प्रोत्साहित गर्नेछ । हाम्रो सुरुआती योजना सफल हुने भने हामी विश्वकप उपाधि नजिक पुग्न सक्छौं, हाम्रो सम्भावना पनि अत्यधिक हुने गर्छ ।’ उनले टिममा जेसन रोयको पुनरागमनले पनि धेरै फाइदा पुगेको माने । ‘रोय निकै मिहिनेती खेलाडी हुन् । उनीविरुद्ध बलिङ गर्नु कसैलाई पनि सजिलो हुन्न ।’
जोनी बेरिस्टोको शतकीय इनिङ्सको पनि मोर्गनले प्रशंसा गरे । बेरिस्टोको दाबीलाई लिएर यसअघि पूर्व कप्तान माइकल भोनले उनको चर्को आलोचना गरे । इंग्ल्यान्ड विरोधीहरू टिमको हारका लागि कामना गरिरहेका हुनेछन् भन्ने बेरिस्टोको भनाइलाई भोनले खिल्ली उडाएका थिए । ‘यो खेलअगाडि जेसुकै भए पनि अन्ततः उनी ब्याटबाट चम्के । यदि उनले यसरी नै राम्रो खेलिरहने हो भने उनले के भन्ने गर्छन्, त्यसमा मलाई कुनै मतलब हुने छैन ।’
भोनको आलोचना पनि त्यसलाई लिएर बेरिस्टोले पनि भारतमाथिको जितपछि प्रतिक्रिया दिएका छन् । ‘मैले जे भने त्यसको गलत अर्थ निकालियो,’ उनले भने, ‘मैले जे भने त्यसलाई हेर्ने नजर फरक हुनसक्छ । केहीले हाम्रो खेल र स्थितिबारे प्रश्न गरेका छन् । खेलमा सधैं शतक बनाउन सकिन्न । कहिलेकाहीं खेलाडी सफल हुन्छ त कहिले असफल । बल स्टम्पको ठीक माथिबाट जाँदा पनि चौका हुने सम्भावना उत्तिकै हुन्छ । खेलाडीले जहिल्यै पनि प्रयास भने गरिरहनुपर्छ ।’