धोनीको खेलबारे प्रशिक्षकले भने : म त अचम्म परें - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

धोनीको खेलबारे प्रशिक्षकले भने : म त अचम्म परें



एजेन्सी — भारतीय टिमका प्रशिक्षकले विश्वकपमा घरेलु टोली इंग्ल्यान्डसँग हारको मुख्य कारकका रूपमा औंल्याइएका विकेटकिपर/ब्याट्सम्यान महेन्द्रसिंह धोनीको बचाउ गरेका छन् । धोनीको सुस्त ब्याटिङका कारण विश्वकपमा पहिलो हार बेहोर्नुपरेको भन्दै आलोचना भइरहेको छ ।

३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ५ ओभरमा जितनिम्ति ७१ रन आवश्यक थियो । क्रिजमा थिए अनुभवी विष्फोटक ब्याट्सम्यान धोनी र केदार जाधब । तर ३९ रनमात्र जोड्न सकेका यी दुईले एक रनका लागि मात्र प्रयास गरे । आवश्यक बाउन्ड्री प्रहार गर्न असमर्थ भए । भारतको इनिङ्स ३०६/५ मा समाप्त भयो । अन्तिमसम्म क्रिजमा रहेका धोनीले ३१ बलमा ४२ र जाधबले १३ बलमा १२ रन बनाए ।

यी ब्याट्सम्यानलाई भारतीय मिडिया र सामाजिक सन्जालमा व्यापक आलोचना भयो । क्रिकेट पण्डितहरूले उनीहरूको दृष्टिकोण ‘अचम्भित पार्ने’ खालको भएको प्रतिक्रिया दिएका थिए । तर टिमका सहायक प्रशिक्षक सन्जय बेंगरले भने पूर्व कप्तानमाथि लगाइएको आलोचनाबाट आफू अचम्ममा परेको बताए । उनले ३७ वर्षीय धोनीले आफ्नो टिमका लागि उपयुक्त भूमिका निभाएको दाबी गरे ।

‘१–२ खेल छाडेर उनले आफ्नो भूमिका राम्रोसँग निभाएका छन् । पछिल्लो ७ मध्ये ५ इनिङ्समा उनले जे गरेका थिए, त्यो टिमका लागि आवश्यक थियो,’ बेंगरले भने, ‘यदि तपाईले अघिल्ला खेल हेर्नुहुन्छ भने दक्षिण अफ्रिकाविरुद्ध उनले रोहित शर्मासँग ७४ रनको साझेदारी गरे । त्यसपछि अस्ट्रेलियासँग पनि उनले जे गर्नुपर्ने थियो त्यही गरे ।’

‘म्यानचेस्टरको निकै कठिन पिचमा वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरे । यहाँ पनि उनले कठिन बललाई राम्रोसँग प्रहार गरिरहेका थिए । मलाई अचम्म के कुरामा लागेको छ भने जहिले पनि उनको आलोचना किन हुन्छ ?’ बेंगरले प्रतिप्रश्न गरे ।

सन् २०११ मा मुम्बईको वाङ्खडे रंगशालामा भारतलाई विश्वकप उपाधि दिलाउँदाका नेतृत्वकर्ता धोनी मध्यक्रमका शक्तिशाली ब्याट्सम्यान हुन् । अहिले उनको फिनिसिङ क्षमतामा प्रश्न उठाउन थालिएको छ । यसै विश्वकपमा अफगानिस्तानसँगको खेलमा सुस्त प्रदर्शन गरेको भन्दै धोनीको आलोचना गरिएको थियो । त्यो खेलमा उनले ५२ बलमा २८ रन बनाएका थिए ।

प्रशिक्षक बेंगरले बर्मिङघममा भारतको हारमा धोनीको सुस्त प्रदर्शन नभई इंग्लिस बलरको सानदार बलिङ भएको दाबी गरे । ‘यदि तपाईले उनीहरूको बलिङ अन्तिमसम्म हेर्नुभएको छ भने विकेट कन्डिसनको भरपूर उपयोग गरेका छन् र हाम्रा ब्याट्सम्यानका लागि शट खेल्न असम्भव कोण पत्ता लगाएका छन्,’ उनले थपे, ‘ठूलो मैदानमा उनीहरूले स्लो बाउन्सर, धेरैभन्दा धेरै विकेट हिटिङ बलिङ गरे । मेरो विचारमा अन्तिम २ वा १ ओभरमा बल र रनअन्तर निकै धेरै भयो ।’