भारतमा बाढीको बितण्डा : २१ जनाको मृत्यु, विद्यालय र हवाईसेवा बन्द - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

भारतमा बाढीको बितण्डा : २१ जनाको मृत्यु, विद्यालय र हवाईसेवा बन्द



भारतकाे महाराष्ट्रमा भारी वर्षाका कारण ठूलाे धनजनको क्षति भएको छ। महाराष्ट्रमा, मंगलबार रातिमात्र तीन ठाउँमा पर्खाल भत्किएर २१ जनाको मृत्यु भएको छ।

मलाड ईस्ट, कल्याण र पुणेमा पर्खाल भत्किँदा उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मलाड ईस्टमा १२ जना, कल्याणमा ३ जना र पुणेको सिंहगढ कलेजको पर्खाल भत्किँदा छ जनाको मृत्यु भएको हो। महाराष्ट्रमा मुख्यमन्त्री देवेन्द्र फडणवीसले मृतका परिवारलाई ५/५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन्। मलाड ईस्टको पिंपरी पान्डामा वर्षाका कारण पर्खाल भत्किँदा १३ जना घाइते भएका छन्।

एनडीआरएफको टोली घटनास्थल पुगेर उद्धार जारी राखेका छन्। घाइतेहरूलाई जागेश्वरीको ट्रमा सेन्टर पुर्याइएको छ। कल्याणमा पनि ४ जना घाइते भएका छन्। घाइते हुनेमा एक तीन वर्षकी बालिका पनि रहेकी छन्। स्कुल,कलेज र रन–वे बन्द महाराष्ट्रमा पछिल्लो पाँच दिनमा भारी वर्षा भएको छ। अन्तिम दुई दिनमा ५४ सेमl पानी परेको छ। थुप्रै क्षेत्रमा ५ देखि ६ फिटसम्म पानी भरिएको छ।

मौसम विज्ञान विभागले मङ्गलबार पनि भारी वर्षाको चेतावनी जारी गरेको छ। सरकारले आज सबै सरकारी र निजी विद्यालय–कलेज र कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। भारी वर्षाको असर मुम्बई एयरपोर्टमा पनि देखिएको छ। स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई विमान रनवे मा चिप्लिएको छ। जसका कारण सोमबारराति मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द गरिएको छ। वैकल्पिक रनवेबाट सेवा दिइएको छ।

स्पाइसजेट घटना पछि ५४ भन्दा बढी उडानहरू डाइभर्ट गरिएका छन्। घरेलू एयरलाइन्सले उडानहरू रद्द गर्ने जानकारी दिएको भने विस्तारा एयरलाइनले १० उडानहरूको रद्द गरेको पुष्टी गरेको छ। तस्वीर: एएनआइ