विजय शंकर पनि विश्वकपबाट आउट भएपछी भारत तनावमा
काठमाडौं – आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत सोमवार घरेलु टोली इंग्ल्याण्डसँग हारेको भारतलाई अर्को झड्का लागेको छ।
भारतीय अलराउण्डर विजय शंकर चोटका कारण जारी १२औं विश्वकपबाट आउट भएका हुन्।
यसअघि नै चोटका कारण भारतले ओवनर शिखर धवनलाई गुमाइसकेको छन् भने फास्ट बलर भुवनेश्वर कुमारले पनि चोटका कारण पछिल्लो ३ खेल खेल्न सकेका छैनन।
२८ वर्षीय शंकरको खुट्टाको बुडी औंलामा चोट लागेका कारण उनी टिमबाट बाहिरिएका हुन्। उनको स्थानमा ओपनिङ ब्याट्सम्यन मायाङ्क अग्रवाललाई टिममा राख्ने सम्भावना छ। अग्रवाल टिमसँग जोइन हुन इंग्ल्याण्ड जाने तयारीमा छन्।
शंकरको खुट्टाको औंलामा चोट लागेको र त्यो निको हुन कम्तीमा ३ हप्ता लाग्ने भएकोले उनी विश्वकपबा६ बाहिरिएको बिसीसीआईले जनाएको छ।
गत जुन २० ट्रेनिङका क्रममा जसप्रित बुमराहको योर्कर बलले शंकरको खुट्टामा लागेको थियो।
त्यसबेला सामान्य चोट ठहर गर्दै शंकरले जुन २२ मा अफगानिस्तान र जुन २७ मा वेष्६ इन्डिज विरुद्ध खेलेका थिए। तर इंगल्यण्ड विरुद्ध खेल्नु दुई दिनअघि उनको चोट बल्झेको हो। उनले जुन १६ मा पाकिस्तान विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका थिए।
भारतले यस विश्वकपमा लिग चरणमा अझै दुई खेल खेल्न बाँकी छ। भारतले भोली बंगलादेशसँग खेल्नेछ र शनिवार श्रीलंकासँग खेल्नेछ। ७ खेलबाट ११ अंकसहित भारत अंकतालिकामा दोस्रो स्थानमा छ।