धोनी र केदारको कारणले खेल हारेको कोहलीको आरोप - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

धोनी र केदारको कारणले खेल हारेको कोहलीको आरोप



एजेन्सी – यस विश्वकपमा अपराजित रहँदै आएको भारत आइतबार आयोजक इङ्ल्याण्डसँग ३१ रनले पराजित भयो।

उसले इङ्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य भेट्टाउन सकेन। भारतको सो हार पछिल्लो २७ वर्षमा विश्वकपमा ईङ्ल्याण्डसँग बेहोरेको पहिलो हार थियो।

हिजोको हारले भारतको सेमिफाइनल प्रवेशमा उस्तो असर नगरे पनि भारतीय कप्तान विराट कोहलीले यस नतिजालाई हलुका ढंगले लिएका छैनन्।

उनले सो खेलमा धोनीको ब्याटिङसँग जोडिएको प्रश्नमा ‘हामीले बसेर कुरा गर्नुपर्छ’ भने।

‘यस विश्वकपमा हरेक टोलीले एक या दुई खेल हारको छ। तपाईंले मान्नुपर्छ विपक्षी टोलीले राम्रो खेल्यो। हामीले पनि राम्रो खेल्यौं तर उनीहरूले आफ्नो खेललाई सहि ढंगले आफ्नो तर्फ लगे। हामी व्यवसायिक क्रिकेटर हौं, यसबाट सिक्ने छौं’, कोहलीले भने।

यस खेलमा भारतले एउटा मात्र छक्का प्रहार गर्‍यो, त्यो पनि खेलको अन्त्यमा। हिजोको खेलमा भारतीय खेलाडीले सहि गतिमा रन किन बटुल्न सकेनन्?

‘जब हार्दिक पाँन्ड्या र ऋषभ पंत ब्याटिङ गर्दै थिए, हाम्रो जित्ने सम्भावना थियो तर त्यसपछि लगातार विकेट गुमाएपछि स्थिति बिग्रियो। हामीले इङ्ल्याण्डको शानदार बलिङलाई मान्नैपर्छ’, विराटले भने।

त्यसैगरी पूर्वकप्तान महेन्द्र सिंह धोनी र केदार जाधवले छिटो रन लिन किन सकेनन् भन्ने प्रश्नमा कोहलीले धोनीले शट केल्ने कोशिस गरेपनि नसकेको बताए।

‘यो क्रिजमा रहेका उनीहरू दुई जनाको कुरा हो। मलाई लाग्छ धोनीले शट हान्ने प्रयास गरिरहेका थिए तर गर्न सकिरहेका थिएनन्। इङ्ल्याण्डले राम्रो बलिङ गरिरहेको थियो जसका कारण शट हान्न कठिन भयो। हामिले यस बारेमा कुरा गर्नुपर्छ ताकि अर्को खेलमा प्रदर्शन सुधार्न सकियोस’, कोहलीले भने।

हिजोको खेलमा धोनीले ३१ बलमा ४२ रन जोडेका थिए भने केदार जाधवले १३ बलमा १२ रन जोडेका थिए।