भारतले पहिलो हार : इंग्ल्याण्ड सेमिफाइनलतर्फ - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतले पहिलो हार : इंग्ल्याण्ड सेमिफाइनलतर्फ



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ  ।

आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको छ ।

बर्मिङघममा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।

भारतका रोहित शर्माले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रोहितले १०९ बलमा १५ चौकासहित १०२ रन बनाए । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । योसँगै रोहित एकै विश्वकपमा तीन शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् । यसअघि सौरभ गांगुलीले एकै विश्वकपमा ३ शतक बनाएका थिए  ।

यस्तै कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । कोहलीको यो लगातार पाँच खेलमा अर्धशतक हो । कोहली लगातार पाँच खेलमा अर्धशतक बनाउने पहिलो भारतीय क्रिकेटर समेत बने ।

त्यस्तै हार्दिक पाण्डयाले ४५, ऋषब पन्तले ३२ रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित ४२ रन बनाए ।

इंग्ल्याण्डका लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

यसआघ टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो ।

इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाए ।

यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए ।

भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवको नाममा एक विकेट रह्यो ।

भारतलाई हराएसंगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ ।

भारत पनि सेमिफाइनल नजिक छ । भारतले ७ खेलबाट ११ अंक जोडेको छ ।