विश्वकपमा ट्रेन्ट बोल्टको नयाँ किर्तिमान - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विश्वकपमा ट्रेन्ट बोल्टको नयाँ किर्तिमान



एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए । अन्तिम ओभरको तेस्रो बलमा बोल्टले बोल्ड आउट गर्नुअघि खवाजाले १ सय २९ बलमा ५ चौका प्रहार गरे ।

त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ११ रनको योगदान दिए । केरिलाई कप्तान केन विलियमसनले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । एक समय २१.३ ओभरमा ९२-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।

फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे ।

बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।

ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए ।