इङ्ल्याण्डका लागि भारी परेको त्यो ट्वीट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

इङ्ल्याण्डका लागि भारी परेको त्यो ट्वीट



एजेन्सी – जारी विश्वकपमा बंगलादेशविरूद्धको खेलमा ३३३ रन बनाएपछि इङ्ल्याण्डका पुर्व कप्तान केविन पिटरसनले एउटा ट्विट गरे।

ट्वीटमा भनिएको थियो- अस्ट्रेलियाले विश्वकप छोडेर एशेजको तयारी गर्नुपर्छ र विश्वकप इङ्ल्याण्डलाई सुम्पिनुपर्छ।

उनको यो ट्वीटमा इङ्ल्याण्डप्रतिको आत्मविश्वास र भरोसा झल्किन्थ्यो।

विश्वकपको सुरूवातमा उनले दिएको यो अभिव्यक्ति अहिले इङ्ल्याण्डका लागि भारी पर्दै गइरहेको छ।

सेमिफाइनलमा स्थान बनाउनका लागि इङ्ल्याण्ड हाल संघर्षरतः देखिरहेको छ।

जबकी उनले एशेज सिरिजको तयारी गर्न लागि सुझाएको अस्ट्रेलिया यस विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो टोली बनिसकेको छ भने आयोजकसमेत रहेको इङ्ल्याण्ड सेमिफाइनलमा पुग्न बाँकी रहेका दुई खेलमा अनिवार्य रूपमा विजयी हुनुपर्नेछ।

मात्र एक खेलको हारले उसको सेमिफाइनल यात्रालाई विराम लगाइदिने खतरा छ।

महत्वपूर्ण प्रतियोगितामा शानदार सुरूवात गरेर इङ्ल्याण्ड धर्मराएको यो पहिलो पटक भने होइन। सन् २०१० मा टि-२० क्रिकेटको विश्वकप विजेता बनेको बाहेक उसले आइसिसी क्रिकेटका अन्य कुनै विधामा कब्जा जमाएको छैन।

यसपटकको विश्वकपमा इयोन मोर्गनको कप्तानीमा आएको इङ्ल्याण्डले शानदार प्रदर्शन गर्ने अनुमान गरिएको थियो तर अनुमान विपरित उ हाल समूह चरणबाटै बाहिरिने खतरासँग जुधिरहेको छ।

विश्वकप अगाडी बेन स्टोक्सले आफ्नो टोलीले पछिल्ला वर्षहरूमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकाले यसपटक उपाधिको प्रबल दाबेदार मानिएको बताउँदै आएका थिए तर अहिले हेर्दा भने यसका लागि उसले ठूलै संघर्ष गर्नुपर्ने देखाएको छ।

इङ्ल्याण्डले यस विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दै दमदार सुरूवात गरेको थियो तर दोश्रो म्याचमा पाकिस्तानसँग १४ रनले पराजत भयो।

दोश्रो खेल गुमाएपनि इङ्ल्याण्डले तेश्रो खेलमा बंगलादेशलाइ १०६ रनले पराजित गर्दै आफूलाई पुनरागमन गर्‍यो। त्यसपछि उसले वेस्ट इण्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले सजिलै पराजित गर्‍यो। तर यसपछि भने उसको प्रदर्शन फेरि खस्कियो। श्रीलंकासँग २० रनले पराजित भएको इङ्ल्याण्ड अस्ट्रेलियासँग ६४ रनले पराजित भयो।

ती हारहरूले उसलाई शीर्ष ४ को यात्रा कठिन बनाइदियो।

अब उसले दुई खेल खेल्न बाँकी छ। भारत र न्युजिल्याण्डसँगको भिडन्त उसका लागि चुनौतीपुर्ण हुनेमा दुई मत नरहेकाले उसको सेमिफाइनल यात्रा के हुन्छ? भन्नेमा अहिले नै केहि भनिहाल्नु हतारो हुनेछ।

विश्वकपका पछिल्ला २७ वर्षको अंकगणित हेर्दा नतिजा इङ्ल्याण्डको पक्षमा छैन। सेमिफाइनल पुग्ने उसले यी दुबै टोलीलाई अनिवार्य हराउँनैपर्छ।

हालको अंकतालिकामा सात खेल खेलेको इङ्ल्याण्ड ८ अंकसहित चौथो स्थानमा छ। त्यसपछि पाँचौं, छैठौं तथा सातौं स्थानमा क्रमशः ७, ७ र ६ अंकसहित बंगलादेश, पाकिस्तान र श्रीलंका रहेका छन्।

यस्तोमा इङ्ल्याण्डका लागि सेमिफाइनल यात्रा सहज छैन।