बाबर आजमको खेलले न्युजिल्याण्डको शेखी झारेपछि... - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बाबर आजमको खेलले न्युजिल्याण्डको शेखी झारेपछि…



एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ ।

२ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानलाई सहज जित दिलाउन बाबर आजमले शतक प्रहार गरे । बाबर १ सय २७ बलमा ११ चौका सहित १ सय १ रनमा अविजित रहे । बाबरले १ सय २४ बलमा आफ्नो वान डे करियरको १० औं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए ।

त्यस्तै मध्यक्रमका ह्यारिस सोहेलले ७६ बलमा ५ चौका र २ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । सोहेल ४९ ओभरको तेस्रो बलमा रन आउट हुन पुगे । बाबर र सोहेलले चौथो विकेटका लागि १ सय २६ रनको शतकीय साझेदारी गरेपछि पाकिस्तानले सहज जित हात पारेको हो । चौका हान्दै खेल जिताएका कप्तान शर्फराज अहमद ५ रनमा नट आउट रहे ।

पाकिस्तानले तेस्रो ओभरको अन्तिम बलमा फकार जमानलाई ९ रनमा गुमाएको थियो । जमानलाई ट्रेन्ट बोल्टले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । त्यस्तै ११ ओभरको दोस्रो बलमा ल्योकी फग्र्युसनले गुप्टिलबाट क्याच गराउँदै इमाम उल हकलाई १९ रनमा पेभिलिएन फर्काए । केन विलियमसनले मोहम्मद हफिजलाई ३२ रनमा क्याच आउट गराए । उनले ५० बलमा ५ चौका प्रहार गरे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श निशम आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै १ सय १२ बलमा ५ चौका र ३ छक्का सहित ९७ रनमा अविजित रहे । अन्तिम बलमा वहाब रियाजलाई छक्का प्रहार गरेपनि उनि आफ्नो वान डे करियरको शतक पुरा गर्न ३ रनले पछि परे ।

त्यस्तै कोलिन डी ग्राण्ड होमले पनि ७१ बलमा ६ चौका र १ छक्कासहित ६४ रनको योगदान दिए । एक समय २६।२ ओभरमा ८३ – ५ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई जेम्श निशम र कोलिन डी ग्राण्ड होमले छैटौं विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । यी दुईबीचको साझेदारी ४८ ओभरको चौथो बलमा डी ग्राण्ड होम रन आउट हुन पुग्दा तोडिएको थियो ।

न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको दोस्रो बलमा युवा खेलाडी शाहिन शाह अफ्रिदीले ह्यारिस सोहेलबाट क्याच गराउँदै अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा पेभिलिएन फर्काए । नवौं ओभरको अन्तिम बलमा अफ्रिदीले रोश टेलरलाई ३ रनमा क्याच आउट गराए ।

१३ औं ओभरको तेस्रो बलमा अफ्रिदीलेनै विकेटकीपर टम लेथमलाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड ४६–४ को दयनिय अवस्थामा पुगेको थियो । कप्तान केन विलियमसनले ६९ बलमा ४ चौका सहित ४१ रन जोड्दै न्युजिल्यान्डको इनिङ उकास्न खोजेका थिए । तर सादब खानले २६।२ ओभरमा कप्तान शरर्फराज अहमदबाट क्याच आउट गराएपछि न्युजिल्यानड ८३–५ को कमजोर अवस्थामा पुगेको थियो । पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाकिस्तानले आफ्नो आठौं खेल आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डले आफ्नो आठौं खेल आगमी शनिवार अष्ट्रेलियासँग खेल्ने छ ।