जब विराट कोहलीलाई लाग्यो अब ढुक्क हारिन्छ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जब विराट कोहलीलाई लाग्यो अब ढुक्क हारिन्छ



बीबीसी । एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार भारतले कमजोर मानिएको अफगानिस्तालाई ११ रनले हराउँदै जितको सिलसिला कायम राख्यो । भारतीय टिमलाई थाहा थियो वा थिएन, तर प्रशंसकले भने अफगानिस्तानी टोलीले कडा चुनौती देला भन्ने सायदै सोचेका थिए ।

अफगानी टोलीले दिएको चुनौतीले करोडौं भारतीय समर्थकको मनमा ठूलो हलचल मच्चायो । क्रिकेट प्रशंसकलाई लागिरहेको थियो कि जुन टिमलाई भारत क्रिकेटको कखरा पढाइरहेको थियो, त्यस्तो टोलीले जित्न के ठूलो कुरा । तर अफगानी टोलीले गरेको प्रर्दशनले दुनियाँ चकित भयो । गत वर्ष एशिया कपमा भारतलाई अफगानिस्ताले झण्डै हराइसकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा २२४ रनमात्रै बनाउन सक्यो । खेलपछि विराट कोहलीले भने, ‘‘खेलाडीले योजनाअनुसार ब्याटिङ गरेनन् । दायाँबायाँ सट खेल्न खोजे जबकि पिच सिधा ब्याटले खेल्ने प्रकृतिको थियो ।’’

टस जितेर ब्याटिङ रोजेका विराट २५० भन्दा माथिको स्कोर चाहन्थे । तर आफगान कप्तान त्यति कमजोर थिएनन् । कप्तान गुलबुद्दीन नायबले अफ ब्रेक बलर मुजीब उर रहमानबाट बलिङ आक्रमण सुरु गरे ।
विराटले खेलपछि भने, ‘‘हाम्रा खेलाडीले जसरी ब्याटिङ सट लगाए, त्योभन्दा राम्रो खेल्न सकिन्थ्यो । एकपटक त हामीलाई हारको डरले सताइसकेको थियो ।’’

उनले थपे, ‘‘बीचका ओभरहरुमा अफगानिस्तानले हामीमाथि निकै दबाब बनाएको थियो । प्रतिभाशाली खेलाडीले भरिएको अफगानिस्तानी टोलीले हामीलाई गेम प्लानअनुसार खेल्न दिएन ।’’ कोहलीले अफगानिस्तानविरुद्धको खेलमा ६७ रनको इनिङ खेले । कोहलीबाहेक अन्य खेलाडी रनका लागि संघर्ष गरिरहेका थिए । रोहित शर्मालाई मुजीबले बोल्ड गरे । जारी विश्वकपमा स्पीनरबाट आउट हुने रोहित पहिलो भारतीय खेलाडी बने ।

मध्यक्रममा आएका विजय शंकर र केदार जाधवको प्रदर्शन औषत थियो । तर अनुभवी खेलाडी महेन्द्र सिंह धोनी भने रन बनाउन असफल रहे । राशिद खानविरुद्ध संघर्ष गरिरहेका धोनी स्पम्पीङको शिकार भए । ५० ओभरमा २२४ रन स्कोरबोर्डमा लगाएको भारतीय टोली निकै निरास र चिन्तित देखिन्थ्यो ।

इनिङ ब्रेकमा भारतले २२४ रनको लक्ष्यमै जित निकाल्ने कस्तो योजना बनायो त ? भन्ने पत्रकारको प्रश्नको जवाफमा कोहलीले भने, ‘‘हामीलाई आफैसँग भरोसा थियो । हामीलसँग जसप्रीत बुमराह, शमी र युजवेन्द्र चहल थिए । तर खेलको बीच समयसम्म आइपुग्दा खेलमा के होला भन्ने लागिरहेकै थियो । तर प्रत्येक खेलाडीलाई हामी जित्न सक्छौं भन्ने भरोसा थियो ।’’

कोहलीले ह्याट्रिक गर्ने बलर मोहम्मद शमी र जसप्रीत बुमराहको खुलेरै प्रशंशा गरे । कोहलीले भने, ‘‘हामी बुमराह र शमीको राम्रो उपयोग गर्न चाहन्छौं । शमीले अन्तिम ओभरमा पूरै ज्यान लगाएर बलिङ गरे । शमीले निकै राम्रो गरे । सुरुवातमा रन रोके । विजयले राम्रो फिल्डीङ गरे । मलाई थाहा छ– यी खेलाडीलाई मौका चाहिएको छ । हाम्रो टिम अन्तिम बलसम्म लड्नसक्ने क्षमता राख्छ ।’’