केन विलियम्सनको चौतर्फी प्रशंसा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

केन विलियम्सनको चौतर्फी प्रशंसा



एजेन्सी — वेस्ट इन्डिजले एकदिवसीय विश्वकपको समूह चरणबाट बाहिरिने खतरा टार्न न्युजिल्यान्डका कप्तान केन विलियम्सनबाट परिस्थिति आफूअनुकूल बनाउने कला सिक्नुपर्ने क्लाइभ लोयडले बताएका छन् । जेसन होल्डरको नेतृत्वमा रहेको क्यारेबियन टोलीले शनिबार न्युजिल्यान्डविरुद्धको खेलअघि जारी विश्वकपका आफ्नो ५ खेलमा एकमात्र जित हासिल गरेको छ ।

१० टोलीसम्मिलित विश्वकपको राउन्ड रोबिन लिग चरणमा न्युजिल्यान्ड अहिलेसम्म अपराजित छ । बुधबार दक्षिण अफ्रिकाविरुद्ध ४ विकेटको जितको सम्पूर्ण श्रेय आफूले लिँदै कप्तान विलियम्सनले अविजित १ सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकप जित्दाका कप्तान लोयडले क्यारेबियन टोलीले सेमिफाइनल प्रवेशको आफ्नो लक्ष्य जीवितै राख्न न्युजिल्यान्डविरुद्ध विलियम्सनको ‘मास्टर क्लास’ लाई रोक्नुपर्ने बताए । ‘शनिबार ओल्ड ट्राफोर्डमा न्युजिल्यान्डविरुद्धको खेलमा आफ्नो सम्भावना खोज्न वेस्ट इन्डिजले आफ्नो स्तर बढाउनुपर्नेछ,’ लोयडले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आफ्नो स्तम्भमा लेखेका छन्, ‘केन विलियम्सनका रूपमा न्युजिल्यान्डसँग सानदार कप्तान र प्रभावशाली ब्याट्सम्यान छन् । दक्षिण अफ्रिकाविरुद्धको उनको इनिङ्स वास्तवमै सानदार थियो । एकदिवसीयमा मैले हेरेको उत्कृष्टमध्ये पर्ने त्यो इनिङ्समा उनले खेलको अवस्था राम्रोसँग अध्ययन गरेर प्रदर्शन गरेका छन् । विलियम्सनबाट केही सिक्दा वेस्ट इन्डिजलाई फाइदै फाइदा हुन्छ ।’

पाकिस्तानविरुद्धको उत्कृष्ट जितसाथ वेस्ट इन्डिजले विश्वकपको सुरुआत गरेको थियो । त्यसपछिका खेलमा उनले लगातार आफ्नो लय गुमाएको छ । अस्ट्रेलिया, इंग्ल्यान्ड र बंगलादेशसँग पराजित भएको छ । लोयडका अनुसार यसै साताको सुरुमा टाउन्टनमा बंगलादेशसँगको हार वेस्ट इन्डिजका लागि सबैभन्दा निराशाजनक क्षण हो । ‘बंगलादेशविरुद्धको खेलमा म निराश यसकारण बनें कि उनीहरूसँग खेलको एउटै मात्र योजना थियो । खेलका क्रममा दोस्रो योजना लागू भएन,’ उनले भने, ‘वेस्ट इन्डिजका खेलाडी अनावश्यक ठूला शट खेल्ने होडबाजीमा लागे, सायद उनीहरूले इंग्लिस कन्डिसन बुझ्न सकेनन् । इंग्ल्यान्डको पिच वर्षाका कारण ब्याट्सम्यानका लागि अनुकूल भएको छ तर । यसको अर्थ यो होइन हरेक बलमा बाउन्ड्रीको प्रयास होस् ।’

लोयड अझै पनि शीर्षक्रमका ब्याट्सम्यान इभिन लेविस र साई होपबाट धेरै आशावादी छन्, दुवैले बंगलादेशविरुद्ध अर्धशतक प्रहार गरेका थिए । ‘अन्तर्राष्ट्रियस्तरमा आएदेखि नै होपले अधिकांश इनिङ्समा निकै राम्रो खेलिरहेका छन् । लेविसको पछिल्लो खेलको प्रदर्शन पनि उल्लेखनीय थियो । मेरो विचारमा उनीहरू सानदार छन् र विश्वकपका बाँकी खेलमा पनि उनीहरूको प्रदर्शन अपेक्षित छ,’ लोयडले भने ।