भारतलाई जित्न सजिलो छैन : अफगानिस्तानी कप्तान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतलाई जित्न सजिलो छैन : अफगानिस्तानी कप्तान



एजेन्सी — अफगानिस्तानका कप्तान गुलबदिन नैबले युद्धग्रस्त आफ्नो देशमा क्रिकेटको वृहत्तर विकासका लागि विश्व क्रिकेटका हस्ती टोलीलाई भविष्यमा आफ्नो टिमविरुद्ध खेल्न निम्ता गरेका छन् । जारी विश्वकपमा नैब नेतृत्वको टोलीले खेलेका सबै खेलमा पराजय बेहोरेको छ । शनिबार उसले उपाधि दाबेदार भारतविरुद्ध साउथह्याम्पटनमा प्रतिस्पर्धा गर्दै छ ।

विश्वकपकै सबैभन्दा कमजोर टोली अफगानिस्तान दोस्रोपल्ट विश्वकप खेल्दै छ । केही आलोचकको दाबी अनुसार चार वर्षअगाडि अस्ट्रेलिया र न्युजिल्यान्डमा आफ्नो पहिलो उपस्थिति यता अफगानी क्रिकेटको स्तर सुध्रिएको छैन । अफगानिस्तानले अघिल्लो संस्करणमा स्कटल्यान्डमाथि जित रचेको थियो । तर जारी विश्वकपमा उसले अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग पराजय बेहोरिसकेको छ ।

कप्तान नैबको दाबी चाहिँ के छ भने उनलाई अझै पनि आफ्नो टिमको प्रयासमा गर्व छ र उनीहरू सही दिशामा अघि बढिरहेका छन् । कप्तान नैब के कुरामा प्रस्ट छन् भने विश्वकपजस्ता ठूला प्रतियोगितामा आफ्नो स्तरमा छलाङ मार्न अफगानिस्तानले विश्व क्रिकेटका हस्ती टोलीहरू भारत र विश्वकप साबिक विजेता अस्ट्रेलियाविरुद्ध धेरैभन्दा धेरै खेल खेल्नुपर्छ ।

‘वास्तवमै हामी त्यही चाहन्छौं । यदि तपाईले हेर्नुभयो भने हामीले यस्ता टोलीहरूसँग खेल्नै पाएका छैनौं, तर हामी निकै राम्रो खेलिरहेका छौं,’ नइवले शुक्रबार संवाददातासँग भने, ‘हामी हाम्रो अनुभव सुधार गर्न चाहन्छौं र त्यसका लागि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तानजस्ता टिमविरुद्ध खेल्न चाहन्छौं ।’

‘यदि तपाई शीर्ष वरीयताका टिमहरूलाई निशाना बनाइरहनुभएको छ भने उनीहरूसँग धेरैभन्दा धेरै खेल खेल्नुपर्छ । यदि हामीले उनीहरूसँग खेल्न पायौं भने सायद हार्ने थियौं वा निकै नै संघर्ष गर्ने थियौं । तर एक दिन अफगानिस्तान क्रिकेट धेरै परिवर्तन हुने थियो,’ नैबले थपे ।

यस विश्वकपमा अफगानिस्तानका लागि जितको राम्रो अवसर श्रीलंकाविरुद्धको वर्षाले प्रभावित खेल थियो । जहाँ उनीहरू संशोधित १ सय ८७ रनको लक्ष्य पूरा गर्न असमर्थ रहे । अफगानिस्तानले विश्वकपका बाँकी ४ खेलमा जित हासिल गरोस् या नगरोस् । कप्तान नैबका अनुसार विश्वकपमा छनोट हुनु नै उसको प्रगतिको सबैभन्दा ठूलो प्रमाण हो ।

‘यदि तपाई पछिल्लो विश्वकपको कुरा गर्नुहुन्छ भने हामीले ५–६ खेल खेलेका थियौं । अहिले ९ खेल खेल्दैछौं त्यो पनि हरेक टिमविरुद्ध, त्यसैले धेरै फरक छ,’ उनले भने, ‘यहाँ हामीले फरक फरक टिमसँग फरककन्डिसन र पिचमा खेलिरहेका छौं । हामीले पछिल्लो ५ खेलमा धेरै सिक्न पाएका छौं ।’ ‘सबैलाई थाहा छ अफगानिस्तान विश्वकपको उदाउँदो देश हो । मलाई यसमै गर्व छ कि हामी शीर्ष १० टिममध्ये एक हौं । यो सबैभन्दा ठूलो क्रिकेट प्रतियोगीता हो र हामीले यहाँ सबै कुरा सजिलो छ भन्न सक्दैनौं,’ उनले थपे ।