अस्ट्रेलियाले प्रमुख निशाना सकिबलाई बनाउने खुलासा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अस्ट्रेलियाले प्रमुख निशाना सकिबलाई बनाउने खुलासा



एजेन्सी — अस्ट्रेलियाका विकेटकिपर/ब्याट्सम्यान एलेक्स केरीले बिहीबार ट्रेन्ट ब्रिजमा बंगलादेशविरुद्ध खेल्दा आफ्नो टोलीको प्रमुख निशाना सकिब अल हसन हुने बताएका छन् । सकिबले सानदार शतक प्रहार गरेपछि सोमबार बंगलादेशले विश्वकपको दोस्रो सर्वाधिक रन सामना गर्दै वेस्ट इन्डिजलाई ७ विकेटले हराएको थियो ।

३२ वर्षीय स्टार अलराउन्डर सकिव ३ सय ८४ रनसहित विश्वकपको प्रमुख रन स्कोररसमेत हुन् । उनले सुरुआती खेलमा इंग्ल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए । उनले ५ विकेट पनि लिएका छन् । सन् २००५ मा बंगलादेशले अस्ट्रेलियालाई पराजित गर्दा त्यति बेला एकदिवसीय क्रिकेटकै सबैभन्दा ठूलो हार–जितको रूपमा ब्याख्या गरिएको थियो ।

तर बंगलादेशी क्रिकेटले त्यसयता धेरै सुधार गरिसकेको छ । अहिलेसम्म दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई हराएर सेमिफाइनल प्रवेशको ऐतिहासिक अवसर जीवित राखेको छ ।

‘वास्तवमै हामीले सकिबका साथै शीर्षक्रमका ब्याट्सम्यान र बलरहरूलाई निशाना बनाउन समय खर्चिएका छौं,’ केरीले बुधबार भने, ‘उनी करिअरकै उत्कृष्ट लयमा छन् । हामीले उनविरुद्ध कुन लाइन र लेन्थमा बलिङ गर्ने भन्ने बुझेका छौं र हामीले विकेट कन्डिसन पनि विचार गर्नेछौं । यसो गर्ने जिम्मा हामीले कप्तान र बलरहरूलाई सुम्पिएका छौं तर सत्य के हो भने हामी उनलाई छिट्टै आउट गर्न चाहन्छौं ।’

भारतसँगको हारका बाबजुद अस्ट्रेलियाले १० टोलीसम्मिलित विश्वकपको राउन्ड रोबिन लिगमा ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ । यसले टोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । तर ब्याट्सम्यान केरी साबिक विजेता आफ्नो टोलीले सुधार गर्नुपर्ने क्षेत्रहरू अझै धेरै रहेको ठान्छन् ।

‘स्पष्ट रूपमा हामी धेरै भन्दा धेरै विकेट लिन मन पराउँछौं । तर धेरैजसो खेलमा हामीले ब्याटबाट इनिङ्स समाप्त गर्न सकेका छौं,’ उनले भने, ‘जस्तो भए पनि हामीले सकारात्मक नतिजा ल्याइरहेका छौं । हामीले कडा मिहिनेत गरिरहेका छौं र सबै क्षेत्रमा अझै राम्रो प्रदर्शन गर्न सक्छौं ।’