शिखर धवनको खास काण्ड के हो ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

शिखर धवनको खास काण्ड के हो ?



एजेन्सी — भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्ना ओपनिङ ब्याट्सम्यान शिखर धवनले औंलाको चोटका कारण आईसीसी एकदिवसीय विश्वकपको बाँकी सबै खेल गुमाउने जनाएको छ । ओभलमा भएको खेलका क्रममा अस्ट्रेलियाका प्याट कमिन्सले प्रहार गरेको बलले लागेर धवनको औंला भाँच्चिएको थियो ।

चोटका बाबजुद धवनले त्यस खेलमा शतक प्रहार गरेका थिए । भारतले साबिक विजेतालाई ३६ रनले पराजित गर्दा उनी म्यान अफ द म्याचसमेत चुनिएका थिए । पहिलो इनिङ्समा शतक प्रहार गरे पनि दोस्रो इनिङ्समा उनले फिल्डिङ गर्न सकेनन् ।

धवनको स्थानमा विस्फोटक ब्याट्सम्यान तथा विकेटकिपर ऋषभ पन्तलाई शनिबार साउथह्याम्पटनमा हुने अफगानिस्तानविरुद्धको खेलअघि टिममा बोलाइएको छ । ‘शिखरको बायाँ हातमा पहिल्यै भाँच्चिएको स्थानको हड्डी टुटेको छ,’ बुधबार भारतीय टिमका म्यानेजर सुनील सुब्रमन्यनले संवाददातासँग भने, ‘विशेषज्ञको सल्लाहअनुसार उनले जुलाई मध्यसम्म क्रिकेट खेल्न सक्दैनन् । त्यसैले उनी विश्वकपको भारतीय टिमबाट बाहिरिनुपरेको हो ।’

२१ वर्षीय ऋषभलाई टिममा राख्न भारतलाई आईसीसीको टेक्निकल कमिटीले स्वीकृति दिनुपर्छ । भारतले धवनको फिटनेसलाई मध्यनजर गरी गत साताको अन्त्यमै ऋषभलाई तयार रहन भनिएको थियो ।

‘ऋषभले मध्यक्रममा ब्याटिङ गर्नेछन् र उनलाई बायाँ हाते हुनुको फाइदा पनि छ । निश्चित रूपमा हामीले ऋषभलाई सुरुदेखि नै तयार अवस्थामा रहन भनेका थियौं, त्यसैले उनलाई चयन गरेका हौं,’ भारतका सहायक प्रशिक्षक सन्जय बेंगरले भने ।