दक्षिण अफ्रिकाको भाग्य खोल्न सक्ने आजको खेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

दक्षिण अफ्रिकाको भाग्य खोल्न सक्ने आजको खेल



एजेन्सी— दक्षिण अफ्रिकाले जारी एकदिवसीय विश्वकपको आफ्नो पाँचौं खेलमा पहिलो जित निकाल्ने क्रममा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । बुधबार एजबास्टोन रंगशालामा दक्षिण अफ्रिकाका लागि न्युजिल्यान्ड निकै कठिन चुनौती हुन सक्नेछ ।

सन् २०१५ को विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रिकामै जन्मिएका न्युजिल्यान्डका ग्रान्ड इलियटले अविश्वसनीय छक्का प्रहार गरी खेल जिताएपछि दक्षिण अफ्रिका घर फर्किएको थियो भने न्युजिल्यान्डले पहिलोपल्ट विश्वकप फाइनलमा स्थान बनाएको थियो । बुधबारको खेलमा न्युजिल्यान्ड तुलनात्मक रूपमा कम दबाबमा हुनेछ तर दक्षिण अफ्रिकाका लागि भने सेमिफाइनल प्रवेशको अभियानमा यो नतिजा निर्णायक बन्नेछ ।

ट्रेन्ट ब्रिजमा भारतविरुद्धको खेल वर्षाले रद्द हुनुअघि न्युजिल्यान्डले विश्वकपका सुरुआती तीनै खेल जितेको थियो । न्युजिल्यान्डका बलरहरूको प्रदर्शन अहिलेसम्म उत्कृष्ट देखिएको छ । जसले हरेक विपक्षीलाई कमसे कम स्कोरमा सीमित गरिदिएका छन् । फलस्वरुप ब्याट्सम्यानले खुलेर खेल्न पाएका छन् ।

मिचेल सान्टनरले निर्णायक इनिङ्स खेल्नुअघि बंगलादेशविरुद्ध न्युजिल्यान्डको मध्यक्रम असफल देखिएको थियो । सम्भवतः उनीहरूले दक्षिण अफ्रिकाको बलिङ आक्रमणविरुद्ध कठिन परीक्षा दिनुपर्नेछ ।

लगातार तीन हारपछि दक्षिण अफ्रिका अस्तव्यस्त देखिएको थियो । तर पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दा उनीहरूले एउटा पूर्ण प्रदर्शन गरे । इमरान ताहिरले ४ विकेट लिएर खेल जिताउने प्रदर्शन गरे । ओपनिङ जोडीले गरेको शतकीय साझेदारी दक्षिण अफ्रिकाका लागि सबैभन्दा सकारात्मक पक्ष हो ।

उच्च लयमा देखिएका न्युजिल्यान्डका बलरहरूको सामना गर्नका लागि दक्षिण अफ्रिकाका शीर्ष ब्याट्सम्यानहरूले पुनः एकपल्ट निर्णायक प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । ह्यामस्ट्रिङको चोटका कारण पछिल्लो ३ खेल गुमाएका लुंगी एनगिडी स्वस्थ्य भएका छन् । उनले सुरुआती ११ मा बेउरान हेन्डरिक्सलाई प्रतिस्थापन गर्ने सम्भावना छ ।

बुधबार एजबिस्टोनमा दिनको सुरुआतमा सामान्य वर्षा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ । यस मैदानमा यसअघिका चार खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।