यात्रा समृद्धिको, खेती झुटको - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

यात्रा समृद्धिको, खेती झुटको



~कुमुद अधिकारी~

कति झुट बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ?
हामी साना देशका मान्छे। साना देशका मान्छेका सपना पनि सानै हुन्छन्। सानो देशका मान्छेले ठूलो मुलुक, विकसित मुलुक र आधुनिक मुलुक देखेकै हुँदैनन्। देखेको भए पनि त्यही टेलिभिजनको पर्दामा मात्र देखेका होलान्। तर चित्र र वास्तविकतामा आकाश पातालको फरक हुन्छ नि हैन र ? प्रेमिकाको फोटोमात्र राखेर प्रेमिका छे भन्न मिल्छ र ? यो सानो देश नेपालका साना नागरिकका साना सपनाहरू पनि सानो सरकारले पूरा गरिदियोस् भन्ने नै हो। भलै सरकार सानो नहोस्। हामी साना छौँ र हाम्रो देशको प्रधानमन्त्री पनि सानै रहनुहोस्, साना काम गर्नुहोस् तर राम्रा काम गर्नुहोस् भन्ने चाहन्छौँ। अनि प्र.म.ले उडन्ते कुरा, हावादारी कुरा, नचाहिँदा कुरा नगर्नुहोस् भन्ने चाहन्छौँ।

बहत्तर सालमा तलतिरको ठूल्दाजुले हेपेर नाकाबन्दी लगायो। त्यसै त भूकम्पले थिलथिलो भएको हाम्रो सानो मुलुकका नागरिकले असाध्यै पीडा खेप्‍नुपऱ्यो। त्यसबेला हाम्रा प्रधानमन्त्रीले सानो अड्डी कस्नुभो। ठूल्दाजुसँग निहुरमुन्टी लगाउन जानु भएन। तिमीहरूले नदिए पनि हामी भोकै मर्दैनौँ भन्नुभयो। हाम्रा प्र.म.ले त्यसबेला गरेको सानो कामले हाम्रो देशका साना सपना भएका नागरिकलाई कति हो कति राहत दियो। हामी सबै खुसीले गद्‌गद भयौँ । प्र.म.प्रतिको आस्था उक्लिएर सगरमाथाको शिखरमा पुग्यो। हामीलाई लाग्यो हामीले साँचो अभिभावक पाएका छौँ, जसले हामीलाई विपत्तिबाट बचाउँछ, स्वाभिमानसहित बाँच्न सिकाउँछ र आत्मसम्मानसँग बाँच्न वैकल्पिक उपायहरू सुझाउँछ। हामी हाम्रा प्रधानमन्त्री केपी ओलीप्रति गर्व र हर्षले गद्‌गद भयौँ।

तीनै तहको निर्वाचन सम्पन्न भई सरकार पनि बन्यो। पुन: केपी ओली नै प्रधानमन्त्री नै बन्नुभयो। तर अब लाग्न थालेको छ, उहाँ धेरै ठूलो भैसक्नुभएको छ। उहाँले ठूल्ठूला गफ गर्न थाल्नु भएको छ। यो सानो देशका साना सपनाधारी नागरिकका ससाना आवश्यकताहरू पूरा गर्ने उहाँको फुर्सद छैन। यो साना देशका निम्छरा नागरिकका निम्छरा आवश्यकतातर्फ ध्यान दिने फुर्सदै उहाँलाई छैन। साना मान्छेका सत्य पनि साना हुन्छन्, असत्य पनि। तर साना मान्छेका साना असत्यले समाजमा त्यत्रो ठूलो प्रभाव पार्दैन जति ठूलो मान्छेको ठूलो असत्यले पार्छ।

हामी सानालाई त सानै कुरा मनपर्छन्। तर प्रधानमन्त्रीले ठूला कुरा गरेपछि हामीलाई उहाँले ढाँटेको पो हो कि भन्ने भान भएको छ।

झुट बोलाइका केही ससाना गोडा दुएक प्रसङ्ग उप्काउन चाहन्छु।

क) धुलो – धुलो वास्तवमा सानै हो। कसैले नाङ्गै आँखाले एउटा धुलोको कण देख्नुभा छ, छैन नि। त्यसैले। मैले त देखेको छैन। तर यही धुलो काठमाडौँका चोक-गल्ली, सडक-बाटा, छत-भुइँ, झ्याल दैला मा जताततै देखिन्छ। प्रधानमन्त्रीले अब धुलो छैन काठमाडौँमा, मास्क लगाउनु पर्दैन भनेर घोषणा गर्दा म कोटेश्वरको जाममा मास्क लगाएर सानो भटभटे घ्यार्रघ्यार्र पारिरहेको थिएँ। धुलोले दुई सय मिटर अगाडि पछाडि देख्‍न गाह्रो परिरहेको थियो। अनि पहिलो पटक मलाई लाग्यो प्रधानमन्त्रीले यस पटक ढाँट्नुभयो। जता गयो त्यतै धुलै धुलो छ। बालुवाटार जाने बाटामा पनि धुलै छ। सिंहदरबार आउने बाटामा पनि। सानो सपना बोकेका काठमाडौँवासी र चाहेर/नचाहेर काठमाडौँ आउन बाध्य नागरिकले सास फेर्नलाई धुलो रहितको हावा न मागेका हुन्। ठूलो कुरा के थियो र प्र.म.ज्यू। तर तपाईँले त सरासर धुलै छैन भन्नु भयो। साह्रै अचम्म र दुःख लाग्यो प्र.म.ले ढाँटेको देख्ता। त्यस्तो धुलो छछैन जाँच्न त साह्रै सजिलो पो छ त। त्यो पनि तपाईँका लागि। बालुवाटारबाट सिंहदरबार पुगेपछि, त्यो बीचमा उभ्भिने ट्राफिक प्रहरीको टोपी मागेर यसो चोर औँलाले छाम्नुभयो भने, आफू चढेको गाडीको छानो मै औँलो फिराउनु भयो भने तत्काल थाहा लागि हाल्छ, काठमाडौँमा धुलो छ कि छैन।

ख) निर्मला पन्त हत्या – ती सानी बच्चीलाई पुरुषका नामका कलङ्कले बलात्कार गरे र हत्या गरे। एक वर्ष हुन लागि सक्यो। बलात्कारी र हत्यारा पत्ता लागेका छैनन्। समाज र सोझा जनतालाई लाजै लाग्ने गरी अनेक अनुसन्धान गरिए, डिएनए परीक्षण गरिए, कति प्रहरी अधिकृतहरूलाई निलम्बन गरियो। धर्ना, जुलुस प्रदर्शनहरू भए। तर बलात्कारी र हत्यारो पत्तो लागेन। प्र.म.ले भन्नुभयो – अनुसन्धानमा असहयोग भयो। कसले गऱ्यो असहयोग प्र.म.ज्यू ? नागरिकले त गरेनन् होला। के नेपाल प्रहरी त्यति निर्धो छ, एउटा बलात्कारी समात्न नसक्ने ? हामी सोझा साना जनतालाई त यस्तो लाग्दैन। अनुसन्धानमा असहयोग भन्दा हामी साना जनतालाई त विश्वासै लागेको छैन प्र.म. ज्यू। नेपाल प्रहरीले कस्ताकस्ता रहस्यमय घटनाहरूको समाधान सजिलै गर्न सक्छ। तपाईँको वाणी झुटो देखियो। अपराधको अनुसन्धानमा कसबाट असहयोग भयो, त्यो त थाहा भएन प्र.म.ज्यू।

ग) रेल र पानीजहाज – आहा कति सुन्दर लाग्ने अभिव्यक्ति थिए ती। चीनबाट रेल आउने, केरुङबाट छिर्ने अनि नेपाल पस्ने। चिनियाँ रेलको सपना साह्रै ठूलो लागेको थियो हामीलाई। लागेको थियो यो एउटा अनावश्यक र असम्भव सपना हो। हामी पनि कति दुष्ट ! कति न्यूनस्तरको सोच ! प्र.म.ले पनि कतै ढाँट्छन् ? पछि चिनियाँ राजदूतले पहाडी भूभागमा रेल चलाउन त्यति सजिलो छैन भन्ने टिप्पणी गरेपछि पो हामी छाँगाबाट खस्यौँ। चीनले ल रेल म बनाइदिन्छु भनेको पनि सुनिएन। कतै सम्झौता भएको पनि थाहा भएन। कि म कुवाको भ्यागुतो नै रहेँ ? (हुन त चिनियाँ भाषामा भने होलान्, आफू बुझिने हैन क्यारे)। चिनियाँ साथीहरूले बनाइदेलान् त रेल ?

घ) सगरमाथामा ट्राफिक जाम – यो अरू झुट बोलाइभन्दा अलिक पृथक छ। माथि उल्लेखित झुट प्र.म.ले देशभित्रै बोल्नुभएको थियो। रेडियो, टिभी, पत्रपत्रिका आदिबाट हामीले सुनेका थियौँ। गत मे महिनामा सगरमाथामा ट्राफिक जाम भएको कुराले सञ्चार माध्यम तातियो। सामाजिक सञ्जालमा धेरै बहस भयो। भुक्तभोगीहरूले मुस्किकले बाँचेर आएका कुराहरू मिडियामा गरे। आरोहण-अवरोहणका क्रममा यसै वर्ष ११ जनाको मृत्यु भएको कुराको तथ्यगत विवरण सायद हाम्रै मन्त्रालयसँग होलान्। एएफपिले जारी गरेको चित्रमा मानिसहरूको लर्को देखिन्छ। त्यस्तो उचाइमा, त्यति प्रतिकूल वातावरणमा, त्यत्रा मानिसहरूको लर्को भीड नभए के हो त ? एउटा जाबो डोरीको भरमा हिँड्नु पर्ने र त्यति धेरै मानिसहरू ! हामीलाई त त्यो भीडै लाग्छ। तर तपाईँले त विदेश गएर विदेशी टेलिभिजनमै, सगरमाथाको भीडलाई हल्ला भनिदिनु भयो। संसारले देखेको कुरालाई हल्ला भनी झुट बोल्दा हजुरलाई अप्ठ्यारो लागेन प्र.म. ज्यू ?

सगरमाथामा भएको भिडभाडबारे विदेशी मिडियाले खिचेको तस्बिर – सौजन्य : एएफपी

हाम्रा सन्ततिहरू युरोप अमेरिका जाँदा, हेर ढँटुवा प्रधानमन्त्रीको देशका मान्छे आए भन्न थाले भने के होला प्र.म. ज्यू ? देशको नाम र प्रतिष्ठामा आँच आउँदा स्वाभिमानी नेपालीलाई कस्तो लाग्ला ? सात कक्षा पढ्ने दुई साना भाइहरू हिन्दीभाषी भारतमा गएर, हिन्दी भाषाका गीत गाएर तेस्रो र चौथो भएर आए(स्मरणयोग्य कुरा हाम्रो मातृभाषा हिन्दी हैन, र उनीहरूले हिन्दी मातृभाषीसँग प्रतिस्पर्धा गरेर आएका हुन्)। उनीहरूलाई सिङ्गो जगतले आदरले नेपाली भनी हेर्दा, तपाईँको ‘सगरमाथाको भीड हल्ला हो!’ भन्ने विदेशी टेलिभिजनमा दिनुभएको अभिव्यक्तिलाई कसरी लिने, कसरी चित्त बुझाउने ? उत्तर पाऊँ प्र.म.ज्यू । उत्तर पाऊँ।