धरानमा डेंगु संकटग्रस्त क्षेत्र घोषणा : सयौं संक्रमित - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

धरानमा डेंगु संकटग्रस्त क्षेत्र घोषणा : सयौं संक्रमित



धरान : धरान उपमहानगरपालिकामा महिना दिनदेखि फैलिएको डेंगु रोगको महामारी नै बनेको छ । डेंगुको संक्रमण नियन्त्रण हुन नसकेपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

डेंगु नियन्त्रण गर्न उपमहानगरपालिका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहल थालेको भए पनि दिनप्रदिदिन डेंगुका बिरामी बढ्ने क्रम जारी छ ।पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्राणघातक रोग डेंगु नियन्त्रणमा आउन नसकेपछि धरान उपमहानगरपालिकाले वडा नम्बर ८ र १५ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ ।

साथै ती क्षेत्रमा जनचेतानामुलक कार्यक्रम र लामखुट्टे मार्ने काम पनि भइरहेको धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । उनले संकटग्रस्त क्षेत्र घोषणा गरिएका वडामा डेंगु नियन्त्रणका लागि विशेष टोली परिचालन गरिने पनि बताएकी छन् ।

धरानमा डेंगुको प्रकोप बढेपछि प्रदेश १ को सामाजिक विकास समितिले स्थलगत अनुगमन समेत गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले धरानमा डेंगुले महामारी रुप लिएको बताएका छन् ।

उपमहानगरपालिकाले डेंगु प्रभावित क्षेत्रमा फगिङ मेशिन मार्फत औषधि छर्केर लामखुट्टे मार्ने काम गरिरहेको धरान–१५ का वडा सदस्य ज्ञानेन्द्र बस्नेतले बताए ।धरानमा हालसम्म दुई सय १७ जनालाई डेंगु रोग लागेको पुष्टि भएको छ । जसमध्ये एक सय ८५ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३२ जना विजयपुर हस्पिटलमा उपचाररत छन् ।

विपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरका अनुसार लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर फुल्ने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने डेंगु रोगका लक्षण हुन् । डेंगु भाईरस डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरी चार प्रकारका हुने गरेको डा. ऐरको भनाइ छ ।