भारतको कमाल, रोहितको शतक र दक्षिण अफ्रिकाको तेस्रो हार - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतको कमाल, रोहितको शतक र दक्षिण अफ्रिकाको तेस्रो हार



जेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ओपनर रोहित शर्माको अविजित शतकसँगै भारतले कमालको सुरुवात गरेको छ ।

भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओभरमा ४७.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । सहज जित दिलाउन रोहितले आफ्नो एक दिवसिय करियरको २३ औं तथा विश्वकपको दोस्रो शतक पुरा गरे ।

रोहितले ४१ ओभरको चौथो बलमा १ रन बटुल्दै १ सय २८ बलमा शतक पुरा गरेका थिए । रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहे । चौका हान्दै खेल जिताएका हार्दिक पान्ड्याले ७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे ।

भारतले पहिलो विकेटका रुपमा ओपनर शिखर धवनलाई ८ रनमा गुमाएको थियो । छैटौं ओभरको पहिलो बलमा कागिसो रबाडाले क्विन्टन डी कबाट क्याच गराउँदै धवनलाई सस्तैमा पेभिलिएन फर्काएका थिए । १६ ओभरको तेस्रो बलमा विकेट कीपर क्विन्टन डी ककले एक हातले उत्कृष्ट क्याच लिदै कप्तान विराट कोहलीलाई १८ रनमा पेभिलिएन फर्काउँदै भारतलाई दवावमा राख्न खोजेका थिए । तेस्रो विकेटका लागि रोहित र लोकेश(केएल) राहुलले ८५ रनको साझेदारी गर्दै भारतको सहज जित पक्का गरे ।

३२ ओभरको तेस्रो बलमा रबाडाले फाफ डु प्लेसिसबाट क्याच आउट गर्दै साझेदारी तोड्नु अघि राहुलले ४२ बलमा २ चौका सहित ३० रनको योगदान दिए । ४७ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा महेन्द्र सिंह धोनी क्रिस मोरिसबाट ३४ रनमा क्याच आउट भए । धोनीले ४६ बलमा २ चौका प्रहार गरे । दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २,क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस मोरिस र कागिसो रबाडाले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए ।

अन्तिम ओभरको दोस्रो बलमा विराट कोहलीबाट क्याच आउट हुनु अघि मोरिसले ३४ बलमा १ चौका र २ छक्का सहित महत्वपूर्ण ४२ रनको योगदान दिए । रबाडा ३५ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे । डेविड मिलरले ३१ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा कुलदीप यादवले क्याच आउट गर्नुअघि मिलरले ४० बलमा १ चौका प्रहार गरे ।

चौथो ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच गराउँदै ओपनर हासिम अमलालाई ६ रनमा पेभिलिएन फर्काए । बुमराहलेनै अर्का ओपनर क्विन्टन डी ककलाई १० रनमा क्याच आउट गराए ।

२० ओभरको पहिलो बलमा युजभेन्द्र चाहालले रस्सि भान डर दुसेनलाई २२ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा चाहललेनै कप्तान फाफ डु प्लेसिसलाई ३८ रनमा बोल्ड आउट गरेपछि अफ्रिका संकटमा परेको थियो । उनले ५४ बलमा ४ चौका प्रहार गरे ।

जेपी ड्युमिनी ३ रनमा आउट भएपछि अफ्रिकाको ठूलो योगफलको संभावना टाढिन पुगेको थियो ।
४० ओभरको तेस्रो बलमा एन्डिले फेहलुकवलोलाई चाहलले महेन्द्रसिंह धोनीबाट ३४ रनमा स्टम्पिङ आउट गर्दै आफ्नो दबदबाह कायम राखे । उनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

अफ्रिकालाई सस्तैमा रोक्न युजभेन्द्र चाहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । जसप्रित बुमराह र भुवनेश्वकर कुमारले समान २ विकेट लिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।