वेस्ट इन्डिजले ५०० रन बनाउन सक्छ - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

वेस्ट इन्डिजले ५०० रन बनाउन सक्छ



एजेन्सी – वेस्ट इन्डिजका ओपनर तथा युवा खेलाडी शाई होपले विश्वकप सुरुहुनु अघि आफ्नो टोलीले वान डे क्रिकेटमा ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् ।

एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

इंग्ल्यान्डको मैदानमा यसपटक केहि क्रिकेट विश्लेषकहरुले ५ सय रन पनि बन्न सक्ने बताएका छन् । हालसम्म वान डे क्रिकेटमा उच्च स्कोर ४ सय ८१ रहेको छ । जुन गतवर्ष इंग्ल्यान्डले घरेलु मैदानमा अष्टेलियाविरुद्ध प्रहार गरेको थियो । यसपटक ४ सय ४१ को रेकर्ड तोडीदै ५ सय सम्म रन बन्न सक्ने चर्चा चलिरहेको छ ।

यसै क्रममा युवा खेलाडी तथा विकेटकीपर शाई होपले वेस्ट इन्डिजले ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् । वेस्ट इन्डिजले वार्मअप खेलमा न्युजिल्यान्डविरुद्ध ४ सय २१ रन बनाएको थियो ।

‘५ सय रन बनाउने पहिलो टिम बन्न सक्ने प्रयास गर्न सक्छौं । यदी हामीले वान डे क्रिकेटमा सबैभन्दा पहिला ५ सय रन बनाउँछौं भने त्यो ठूलो उपलब्धि हुने छ,’ होपले थपे, ‘हामीसँग जुन प्रकारका विष्फोटक ब्याट्सम्यान छन् त्यो देख्दा मलाई लाग्छ ५ सय रन बनाउन सकिन्छ ।’

वेस्ट इन्डिजमा होपसँगै, क्रिस गेल,आन्द्र रसेल, एभिन लुईस, शिमरोन जेटमायर, जेसन होल्डर र निकोलस पुरन जस्ता विष्फोटक ब्याट्सम्यान छन् । यी सबै खेलाडीले आफ्नो एकल प्रर्दशनमै खेल परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । वेस्ट इन्डिजका खेलाडी हेर्दा ५ सय रन बनाउने रेकर्ड बन्न सक्ने देखिन्छ । विश्वकपमा वेस्ट इन्डिजले शुक्रबार पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।