विश्वकपमा इंग्ल्याण्डको पहिलो जीत र ताहिरको पहिलो विकेट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विश्वकपमा इंग्ल्याण्डको पहिलो जीत र ताहिरको पहिलो विकेट



एजेन्सी -आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो ।

लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे ।

जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने ओयन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्टोक्सबीच चौथो विकेटका लागि १०६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउँदा मोइन अलीले मात्र तीन रन जोडे । बेन स्टोक्सले ८९ रन बनाए । यस्तै क्रिस वोक्सले १३ रन थपे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ र लुंगी एनगिडीले ३ विकेट हात पारे । त्यस्तै कागिसो रबाडाले २ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भयो । उसका लागि क्विण्टन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो ।

बलिङतर्फ इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए । आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो विकेट भने इमरान ताहिरले लिएका छन् ।