मोदी र इमरानले फोनवार्ता - मिलेर अघि बढ्ने सहमति - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मोदी र इमरानले फोनवार्ता – मिलेर अघि बढ्ने सहमति



नयाँदिल्ली । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिभएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको थियो ।”

दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताएका छन् ।

“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद) ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।

जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।

मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन्। रासस