भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा
नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् ।
कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् ।
सनी देओल चम्किए
अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए ।
सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका छन् । विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका छन् ।
हेमा मालिनि ३ लाख भाेटले बीजयी
कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निवार्चित भइन् । उनी उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।
बलिउडका अर्का चर्चित अभिनेता राज बब्बरको भने पराजय भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।
उर्मिलाको बिजोग
यसैगरी कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी पाएकी बलिउडका चर्चित नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे ।
भाजपाबाटै चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चलचित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निवार्चित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वा्चित भएकी थिइन् ।
अभिनेत्री जयाप्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् ।
बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक बाबुल सुप्रियोसँग पराजित भएकी छन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।
शत्रुघन सिन्हा पार्टी फेरे नियति फेरिएन
भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तनले पराजयतर्फ लग्यो । उनले पटना साहिब निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय हुनु परेको छ । अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टीको उम्मेदवार भई सन् २००९ र २०१४ मा विजय भएका थिए ।
दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । उनी भाजपाका पीसी मोहनसँग ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् ।
भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भएका छन् ।
भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए । उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे ।
अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् ।