पाकिस्तानलाई लाग्यो ठूलो झट्का- इमरान खान निरास - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

पाकिस्तानलाई लाग्यो ठूलो झट्का- इमरान खान निरास



काठमाडौं -पाकिस्तानले कराची नजिक तटीय इलाकामा तेल र ग्याँसको खोज सुरु गर्दैगर्दा ठूलो भण्डार भेटिने आशय व्यक्त गरेको थियो ।

तर शनिबार पाकिस्तानले आधिकारिक रुपमा यो क्षेत्रमा तेल र ग्याँसको खोजी कार्यलाई रोकेको छ । यसबाट आफ्नो इन्धनको आवश्यकता पूर्तिका लागि आयातमा निर्भर रहने पाकिस्तानलाई ठूलो झड्का पुगेको छ ।

शनिबार पाकिस्तानले आधिकारिक रुपमा केकरा–१ मा खोजीको कार्य बन्द गर्ने घोषणा गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एपीपीका अनुसार, तेलको खानी खोजिरहेको टोलीले केही दिनमा नै त्यसमा पूर्णविराम लगाउनेछ ।

यो भन्दा अघि पाकिस्तानले यो क्षेत्रमा तेलको खोजको लागि १७ पटक गरेको प्रयास विफल भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केकरा–१ मा तेल खोजीको परिणाम इच्छा अनुसार नभएको बताएका छन् । प्रधानमन्त्रीले गएको मार्च महिनामा अरब सागरमा तेलको ठूलो भण्डार भेटिन सक्ने बताएका थिए ।

‘पाकिस्तान तेल र ग्याँसको ठूलो खोजको नजिक पुगेको छ । यदि यो सफल भएमा देशबाट आर्थिक समस्या हटेर जान्छ,’ प्रधानमन्त्री खानले भनेका थिए ।

पाकिस्तानका पेट्रोलियम रिजर्भका एक वरिष्ठ अधिकारीले ५ हजार पाँच सय मिटरसम्म खन्दा पनि कुनै पनि तेलको भण्डार पत्ता नलागेको बताए ।

पाकिस्तानले अहिले ८५ प्रतिशतभन्दा धेरै इन्धन आयात गर्दै आइरहेको छ । यही कारणले गर्दा पाकिस्तानले आफ्नो विदेशी मुद्रा भण्डारको ठूलो हिस्सा इन्धन खरिदका लागि खर्च गर्दै आइरहेको छ ।