अन्तर्जातीय बिहेपछि मुसहर परिवारमा तनाव - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अन्तर्जातीय बिहेपछि मुसहर परिवारमा तनाव



काठमाडौँ- मोरङ बूढीगङ्गा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो। घरमा आउजाउ चल्थ्यो। समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे। एक महिना यता भने ठीक उल्टो छ। आपसमा दुस्मनी छ। झडप भएको छ। यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु।

सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि नै थियो। एसईई परीक्षा सकिएकै दिन चैत १८ मा दुवैले गाउँ छाडे, सम्पर्कविहीन भए। लगत्तै थापा परिवारले छोरी फिर्ता ल्याउन भन्दै धम्क्याउन थाल्यो।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो। नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो। अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन्। कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन्। छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ।

थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रा छन्। उनीहरूका थुप्रै पुस्ता त्यहीँ बसेका थिए। त्यहाँ सनीका आफन्तका चार घर छन्। धेरै वर्षपहिले वडा समितिले गाडिदिएको सार्वजनिक ट्युबवेलबाट उनीहरूले पानी पिउँदै आएका थिए। सनी र सिर्जनाको बिहेलाई बहाना बनाएर आफूहरूलाई विस्थापित गर्न खोजिएको मुसहर परिवारको गुनासो छ।

मुसहर समुदायले अर्को बस्तीबाट पानी ल्याउने गरेकामा त्यहाँ पनि ट्युबवेल बिग्रिएको छ। ‘अर्को ट्युबवेल गाड्दा फेरि थापा परिवारका सदस्यले उखेलिदिए। अहिले खाने पानीका लागि हामीले धेरै दुःख पाउनुपरेको छ,’ स्थानीय खकरी ऋषिदेवले भनेको कान्तिपुर दैनिकमा खबर छ।