बैंकहरुलाई स्किम चलाउन प्रतिबन्ध - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बैंकहरुलाई स्किम चलाउन प्रतिबन्ध



काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत निक्षेप संकलन गर्दा ग्राहकलाई आकर्षित गर्न ल्याइएका उपहार कार्यक्रममा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । निक्षेपमा आकर्षित गर्न सुनचाँदीका सिक्का, जन्मदिनमा केक लगायत उपहार योजना जारी गर्न नपाइने केन्द्रीय बैंकले बिहीवार जारी गरेको निर्देशनमा उल्लेख छ ।

निक्षेप आकर्षित गर्न दिइने उपहारका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएकाले प्रतिबन्ध लगाउनु परेको राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनका अनुसार अब सबै वित्तीय संस्थाले सुनचाँदीको अफर, जन्मदिनमा केक लगायत कुनै पनि उपहार दिन पाउने छैनन् । ‘यस्तो उपहारले लागत बढाउँछ, ब्याजमा पनि प्रभाव पार्ने भएकाले बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा मौलाउँछ,’ उनले भने ।

राष्ट्र बैंकले यसअघि निक्षेपलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूले चिठ्ठामा आधारित कुनै पनि प्रकारको उपहार कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो ।

भूकम्प पीडित र धितोको परिभाषा परिमार्जन
अब भूकम्प पीडित परिवारको निजी आवास निर्माण कर्जाका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ । ब्याज अनुदानको एकीकृत कार्यविधि २०७५ अन्तर्गत कर्जा लिँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने यस्तो कर्जाका लागि प्यान प्रमाणपत्र अनिवार्य गरिएको थियो ।

त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले बिहीवार परिपत्र मार्फत बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

संशोधित कार्यविधिले भूकम्प पीडितले पुनर्निर्माण हुने घरले ओगट्ने जग्गा मात्र धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यविधि संशोधन गरिएको राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक मिश्रले बताए । केन्द्रीय बैंकको परिमार्जित परिभाषामा भनिएको छ, ‘भूकम्प पीडित भन्नाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास पुनर्निर्माण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेका वा सम्झौता गरी पहिलो किस्ता प्राप्त गरेर दोस्रो किस्ता प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास पुनर्निर्माण वा प्रबलीकरण गर्न नसकेका लाभग्राही सम्झनु पर्नेछ ।’

यस्तै, भूकम्प पीडितले कर्जा लिन राख्ने धितोसम्बन्धी परिभाषा समेत परिवर्तन भएको छ । त्यसअनुसार धितो भन्नाले भूकम्प पीडितको निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरेको घर तथा त्यो घरले चर्चेको जग्गालाई सम्झनु पर्नेछ ।