राहुल गान्धीको क्षेत्रमा बुथ कब्जा गरेको आरोप - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

राहुल गान्धीको क्षेत्रमा बुथ कब्जा गरेको आरोप



एजेन्सी–भारतमा पाँचौ चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । सोमबार सात राज्यका ५१ लोकसभा सिटका लागि भएको सो निर्वाचनमा ६१.८ प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मतदान पश्चिम बंगालमा भएको छ । पश्चिम बंगालमा ७४ प्रतिशत मतदान भएको छ । त्यस्तै मध्यप्रदेशमा ६३ प्रतिशत मतदान भएको छ भने राजस्थानमा पनि ६३ प्रतिशत मतदान भएको छ । त्यस्तै झारखण्डमा ६४ प्रतिशत मतदान भएको छ । करिब ८ करोड ७५ लाख मतदाता रहेको यी क्षेत्रका ५१ सिटमध्ये सन् २०१४ मा भाजपाले ३९ सिटमा विजयी हासिल गरेको थियो ।

 

 

त्यसबेला काँग्रेस आईले २ सिटमा मात्र विजयी हासिल गरेको थियो । मतदानका क्रममा केही स्थानमा झडप र बुथ क्याप्चर गरिएको समाचारहरु आएका छन् । पश्चिम बंगालको बैरकपुरमा भाजपा र तृणमुल काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ भने  अमेठीमा भाजपाका उम्मेद्वार स्मृति इरानीले बुथ कब्जा गरेको आरोप लगाएकी छिन् । यो निर्वाचन क्षेत्रमा काँग्रेस आईका अध्यक्ष राहुल गान्धी निर्वाचन लडेका थिए । इरानीले यो क्षेत्रमा काँग्रेसले बुथ कब्जा गरेको आरोप लगाएकी छिन् ।

कहाँ कति मतदान भयो ? 

बिहार (५ सिट) – ५७ प्रतिशत

कश्मीर (२ सिट)– १७ प्रतिशत

मध्यप्रदेश (७ सिट)– ६३ प्रतिशत

राजस्थान (१२ सिट)– ६३ प्रतिशत

उत्तरप्रदेश (१४ सिट)– ५५ प्रतिशत

बंगाल (७ सिट)– ७४ प्रतिशत

झारखण्ड (४सिट)– ६४ प्रतिशत

यो निर्वाचनमा प्रभावशाली नेतृ सोनिया गान्धी रायबेरली, काँग्रेस आईका अध्यक्ष राहुल गान्धी अमेठी, भाजपा नेता राजनाथ सिंहले लखनउबाट उम्मेद्वारी दिएका थिए ।

सात चरणमा हुने लोकसभा निर्वाचनको मतपरिणाम मे २३ मा सार्वजनिक हुनेछ । त्यसअघि मे १२ र १९ मा छैठौं र सातौं चरणको निर्वाचन हुँदैछ ।