अब सत्तारुढ नेकपाका सांसदहरू बोल्न नपाउने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अब सत्तारुढ नेकपाका सांसदहरू बोल्न नपाउने



काठमाडौं। नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ।

संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका कारण एक घन्टा ढिलो सुरु भएको थियो। ओली नआउँदै पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा उपनेता नेम्बाङले नीति तथा कार्यक्रम राम्रो आएको भन्दै समर्थन जनाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको विदेश भ्रमणका कारण छलफलका लागि समय नरहेको भन्दै नेम्बाङले २४ गतेपछि दलको बैठक बोलाइने जानकारी दिएका थिए। छलफल गर्न नपाइने भएपछि केही सांसदले असन्तुष्टि जनाएका थिए। राष्ट्रपतिबाट ‘मेरो सरकार’ भनी नीति तथा कार्यक्रममा भएको सम्बोधन र केही तथ्यांकबारे सरकारका तर्फबाट स्पष्ट पार्नुपर्ने र छलफलका लागि समय दिनुपर्ने माग सांसदहरुको थियो।

सांसद रामकुमारी झाँक्रीले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ को भाषाशैलीप्रति असन्तुष्टि जनाउँदै छलफलको माग गरेकी थिइन्। उनले नीति तथा कार्यक्रमका प्रस्तुत सडक पिचलगायत कतिपय तथ्यांक विवादमा परेको बताइन्। उपनेता नेम्बाङले २४ गतेपछि संसदीय दलको बैठकमा पर्याप्त छलफल गराइने बताए।