अनेसास जापानको स्वर्ण शृङ्खला, पिपिरीको विमोचन - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

अनेसास जापानको स्वर्ण शृङ्खला, पिपिरीको विमोचन



जापान/ पछिल्लो समय देश बाहिर पनि साहित्यिक गतिविधिहरू बाक्लै हुन थालेका छन् । त्यसैको एउटा उदाहरण हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान ।

परदेशको व्यस्त समयलाई पनि व्यवस्थापन गरी अनेसासले आफ्नो गौरवमय स्वर्ण शृङ्खला (५० औँ) आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ । स्वर्ण शृङ्खला विशेषमा नेपालबाट कवि/गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज वसन्त अतिथिका रूपमा निम्त्याइएका थिए ।

जापानको साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको अनेसासले नेपालमा हालसालै मात्र प्रकाशित वसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टी पनि विमोचन गरेको थियो ।

जापानमा अनेसास साहित्य शृङ्खलाको जग राखेका पूर्व अध्यक्ष बेलु काजी थापाले संस्था यहाँसम्म आइपुग्नुमा सबैको सहयोग रहेको बताए । ‘त्यति बेला एउटा होटलको टेबलको कोठाबाट सुरु भएको यात्रा हो अनेसासको’ विगतका दिन सम्झिँदै भने- ‘हामीले कैयौँ शृङ्खला चार पाँच जना मात्रैले पनि चलायौं तर मर्न दिएनौं ।’

आफूले बीउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै कृतज्ञता प्रकट गरे । केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले केन्द्र र च्याप्टरको बिचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने पनि बताए । यस्तै सल्लाहकार तिलक मल्ल लगायतले अनेसासले गरेका विभिन्न यात्राबारे आफ्ना अनुभूति सुनाएका थिए ।

लोकार्पित कृतिमाथि बोल्दै प्रमुख अतिथि रमेश पौडेलले, पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताए । ‘पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेका छन्’ उनले भने- ‘एकपटक गाउँ फर्काउने शक्ति पिपिरीमा छ ।’

लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छ’ उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने- ‘मेरो सपनाको देश थियो जापान । पहिले विद्यार्थी भिसामा आउन कोसिस गरें तर सकिनँ । पछि कुक भिसा निस्कियो । तर म अरब बसेर श्रम गरिसकें । अब जापान गएँ भनेँ घुम्न जान्छु भन्ने सोचेको थिएँ । त्यही सपना अनेसासले पूरा गरिदियो ।’

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको बताए । ‘दुई वर्षे कार्यकालको उत्तरार्धमा छु’ उनले सुनाए- ‘संस्थालाई आफूले जतिसक्दो बलियो र गतिशील बनाउन कुनै कसुर बाँकी राखेको छैन ।’

स्वर्ण शृङ्खलाकै सन्दर्भ पारेर समग्र संस्था र जापानको साहित्यलाई सहयोग गरेका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा दुई दर्जन स्रस्टाले रचना वाचन गरेका थिए । यस्तै ‘सिटी एक्सप्रेस कविता प्रतियोगिता’को नतिजा घोषणा गरी विभिन्न तीन स्रस्टा सबिना रेग्मी, शरद पोख्रेल र दीप मुस्कानलाई समान रूपमा पुरस्कार प्रदान गरिएको थियो । जुन कार्यक्रम रविन शर्माले सन्चालन गरेका थिए ।