सगरमाथाको उचाइमा शक्तिराष्ट्रबीच यस्तो राजनीति : खास उचाई कति ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सगरमाथाको उचाइमा शक्तिराष्ट्रबीच यस्तो राजनीति : खास उचाई कति ?



सगरमाथाको उचाइ नाप्ने नेपाली आरोहण टोलीलाई १० अप्रिल २०१९ मा शुभकामना दिँदै प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘सगरमाथाको उचाई घटेको भन्ने विश्वास छैन।’

हिमालमाथि हुने राजनीति प्रष्ट बुझेका ओलीले आरोहण दलका सदस्य हौस्याउन मात्र यसो भनेका थिएनन्, सगरमाथाको उचाई घटेको÷बढेको भन्दै विभिन्न देशले निकाल्ने नतिजा र त्यसलाई कायम गराउन हुने अन्तर्राष्ट्रिय लबिङप्रति सांकेतिक जबाफ पनि थियो।

सन् २००५ मा चीनले दोश्रोपटक सगरमाथाको उचाई नाप्दाको परिघटनाले हिमालमाथिको राजनीति कतिसम्म हुन्छ भन्ने छर्लंग हुन्छ। यो खबर आजको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन्।

त्यतिबेला चीनले सगरमाथाको उचाई आठ हजार ८ सय ४४ मिटर मात्र रहेको भनेर अन्तर्राष्ट्रिय चर्चा मात्र चलाएन, विश्व पर्वतारोहण महासंघमा त्यही उचाई कामय गराउन निवेदन दियो।

त्यसपछि चीनको भूमिबाट सगरमाथा आरोहण गर्नेलाई त्यही उचाइका प्रमाणपत्र दिन थाल्यो। यो क्रम सन् २००५ देखि ०१५ सम्म चल्यो।

चीनले त्यतिबेला सगरमाथाको उचाइ नाप्नु र त्यसरी आएको उचाई कायम गर्न महासंघसम्म पुग्नुको भित्री रहस्यचाहिँ अमेरिकी प्रस्ताब फेल गराउनुसँग जोडिएको थियो।

सन १९९१ देखि १९९९सम्म ८ वर्ष लगाएर अमेरिकाको नेसनल जिओग्राफी अफ सोसाइटीका तर्फबाट डा.वासवर्नले सन २००१ मा सगरमाथाको उचाइ दुई मिटर बढेको अर्थात ८ हजार ८ सय ५० मिटर पुगेको नतिजा सार्वजनिक गर्यो।

सगरमाथाको उचाइ नाप्दा अमेरिकी टोलीले हिउँको मात्रासमेत नापेको थियो र दुई मिटर बढेको भन्यो।

यता चीनले हिउँको मात्रा नापेन र ४ मिटर कम देखायो। यसरी सर्वोच्च शिखर सगरमाथाको उचाइबारे शक्तिराष्ट्रबीच हानाथाप चलिरहेको छ।