पुटिन र किमको निस्कर्ष : डोनाल्ड ट्रम्प भरोसायोग्य छैनन्
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उन र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा भेटवार्ता समपन्न भएको छ । कोरियाली प्रायद्वीपमा आणविक अप्रसारका साथै रूस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने कुरामा वार्ता केन्द्रित रहेको अन्तर्राष्ट्रय समाचार एजेन्सीले जनाएका छन् ।
राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर त्यहाँ पुगेका थिए । बिहीबार भएको भेटले दुबै नेताबीच कोरियाली प्रायद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएको छ ।
यद्यपि दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नभएको र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नभएको क्रेमलिनले जनाएको छ । उनीहरुबीचको वार्ता समाप्तिका क्रममा नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो भेटवार्तामा भरोसा नदेखाएको बताएका छन् । उनले ट्रम्पसँग उतारचढाव आए अमेरिकासँगको सम्बन्ध खतराको रुप लिने सक्ने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उन बीच सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा वार्ता भएको थियो । उनीहरुबीच यसै वर्षको फेब्रररी २८ मा भियतनाममा दोस्रो शिखर सम्मेलन भएको थियो ।
किमले परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता हुनु अघि नै ट्रम्पसँगको दोस्रो भेटवार्ता सकिएको बताएका छन् । उनले आफ्नो देशमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउनसमेत माग गरेको बताएका थिए । यसबारे ट्रम्पको कुनै जवाफ नआएको भन्दै उनले अमेरिकासँगको सम्बन्ध अस्थिर रहेको बताएका हुन् ।