सन्दीप बिना दिल्लीको जित : हैदरावाद ३९ रनले पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीप बिना दिल्लीको जित : हैदरावाद ३९ रनले पराजित



एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै सन्दीपको टिम दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । तर, दिल्लीले हैदरावादविरुद्ध सन्दीपलाई प्लेईङ सेटमा राखेको थिएन ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो ।

हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हैदरावादका जोनी बियर्स्ट्रोले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल अविजित १४ रन बनाए ।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

यससंगै दिल्लीले लिगमा पाँचौ जित दर्ता गरेको छ । दिल्लीले ८ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

हैदरावादको भने यो चौंथो हार हो । हैदरावादले ७ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको छैटौं स्थानमा छ ।

लिगमा १४ अंक जोडेको चेन्नई शीर्ष स्थानमा छ ।