लालु यादवले जेलबाटै लेखे भावुक पत्र - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

लालु यादवले जेलबाटै लेखे भावुक पत्र



भारतको राष्ट्रिय जनता दल(आरजेडी)का अध्यक्ष तथा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवले जमानतका लागि दिएको रिट खारेज भएपछि जेलबाटै पत्र लेखेका छन् ।

उनले पत्रमा आफूलाई उमेरले साथ नदिएको उल्लखे गरेका छन् । आफू जेलमा कैद भए पनि आफ्ना विचार कैद नभएको उनले बताएका छन् ।

दाना भ्रष्टाचार प्रकरणमा जेलमा रहेका लालुले खराब स्वास्थ्यको कारण देखाउँदै आफूलाई धरौटीमा रिहा गर्न रिट दायर गरेका थिए । जसलाई बुधकार अदालतले खारेज गरेको छ ।

बुधबार लालूले ट्विटरमार्फत बिहारका नागरिकलाई सम्बोधन गर्दै लेखेका छन्, ‘४४ वर्षमा यो पहिलो चुनाव हो, जसमा म तपाईँहरुबीचमा छैन । चुनावी उत्सवमा तपाईँहरु समक्ष हुन नपाएको अफसोच छ । तपाईँहरुको कमीको महसुस गरिरहेको छु । त्यसैले यो पत्र तपाईँहरु सबैको नाममा लेखेको छु । आशा छ यो तपाईँहरुले पढ्नुहुन्छ र लोकतन्त्र र संविधानलाई बचाउनुहुनेछ ।’

लालूले ट्वीटका साथै आफ्नो पत्रको प्रति पनि अपलोड गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘राँचीको अस्पतालमा एक्लै भएका बेला तपाईँहरुसँग कुरा गर्न मल लाग्यो । चुनावको बिगुल बजिसकेको छ । तर यस पटकको चुनाव अलि बेग्लै छ । सबैथोक दाउमा छ । देश, समाज, तपाईँका हक, इज्जत र गरिमा पनि दाउमा छ ।’

लालू अगाडि लेख्छन्, ‘लडाईँ वार–पारकै छ । मेरो घाँटीमा सरकार र केही चालबाजहरुको फन्दा छ । उमेरसँगै शरीरले पनि साथ दिइरहेको छैन । तर देश र नागरिकको लडाईँमा मेरो साथ रहनेछ ।’

पत्रमा लालूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि कडा आलोचना गरेका छन् । उनी लेख्छन्, ‘आरक्षण तथा संविधान विरोधी नरेन्द्र मोदीलाई हराउने लडाईँमा गर वा मरको भावनाको आवश्यकता पर्छ । हरेक नागरिक लालू बन्नैपर्छ । त्यसैगरी डटेर लाग्नुपर्छ । अगाडि जति नै मुश्किल होस्, डर तथा धम्की होस्, लालच वा खतरा नै किन नहोस् । सबै डटेर यसको सामना गर्नुपर्छ र गरिबगुरुवाको सम्मान र प्रतिष्ठा जोगाउनुपर्छ ।’

भारतमा अप्रिल ११ देखि मे १९ सम्म गरी सात चरणमा लोकसभा चुनाव हुँदैछ । लालू जेलमा भए पनि आरजेडीका तर्फबाट उनका छाेराहरु तेजश्वी यादव र तेजप्रताप यादव चुनावी मैदानमा रहेका छन् ।