मोदीले गरे नेपालीको माग पुरा गर्ने घोषणा
भारतीय जनता पार्टी (भाजपा)ले सोमबार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा दार्जिलिङ, सिक्कीम र डुबर्सको राजनीतिक मुद्दाको दिर्घकालीन समाधान खोज्ने उल्लेख गरेको छ । तर, त्यो समाधान कस्तो हुन्छ भन्नेबारे घोषणा पत्रमा केही उल्लेख छैन् ।
समावेशी विकास शीर्षक अन्तर्गत २० औं र २१ औं नम्बरमा भाजपाले नेपाली भाषी भारतीयको मुद्दालाई स्थान दिएको छ । २० औं बुँदामा नेपाली भाषी थप ११ जातिलाई जनजाति अनुसूचीमा समावेश गर्ने र सिक्कीमको विधान सभामा तामाङ र लिम्बुलाई आरक्षणको व्यवस्था गर्ने उल्लेख छ ।
यस्तै, २१ औं बुँदामा ‘दार्जिलिङ पहाड, सिलिुगडी तराई र डुबर्स क्षेत्रको मुद्दाको दीर्घकालीन राजनीतिक समाधान खोज्न प्रतिबद्ध भएर काम गर्ने’ उल्लेख छ ।
यसअघि, सन् २००४ देखि दार्जिलिङबाट निरन्तर भाजपाले जित हात पारिरहेको छ । सन् २०१४ को चुनावपछि केन्द्रमा भाजपा सरकार गठन भएसँगै अलग गोर्खाल्याण्डको माग सम्बोधन हुने अपेक्षा यो क्षेत्रका बासिन्दाले गरेका थिए ।
आन्ध्र प्रदेशबाट तेलंगना राज्य अलग गर्न भूमिका खेलेको भएर पनि यो क्षेत्रका बासिन्दाले भाजपामाथि आशा गरेका थिए । तर, भाजपाले गोर्खाल्याण्डको माग सम्बोधन गर्न कुनै भूमिका नखेलेको, दार्जिलिङमा आन्दोलन चलिरहँदा समेत केन्द्र सरकार मौन बसेको आरोप स्थानीयले लगाएका छन् ।
दार्जिलिङ क्षेत्रमा यसपटक भाजपाले मनिपुरका नेपाली भाषी व्यवसायी राजु विष्टलाई उम्मेद्वार बनाएको छ । यद्यपी चुनावमा विमल गुरुङ लगायतका नेताहरुले विष्टलाई साथ दिने भएका छन् ।
भाजपा उम्मेद्वार विष्टले तृणमुल कंग्रेसका उम्मेद्वार दार्जिलिङकै रैथाने अगमसिंह राईसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । राईलाई विनय तामाङ लगायतका नेताहरुले साथ दिएका छन् ।