उडिसामा भारतीय कांग्रेसको कन्तबिजोग
काठमाडौं – भारतमा हुन लागिरहेको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान अर्को हप्ता भइरहेकोमा बुधवार उडिसामा कांग्रेस पार्टीमा संकट परेको छ ।
कांग्रेसका पूर्वसांसद तथा पार्टी उम्मेदवार बिभु प्रसाद तराईलाई तटीय क्षेत्रको जगतसिंहपुर जिल्लाबाट उठाइएको भए पनि उनले विधानसभा निर्वाचनमा हत्याका आरोपित उठाइएको भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।
उडिसामा लोकसभा र विधानसभा निर्वाचन एकै दिन गरिने भएको छ । तिर्तोल विधानसभा निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार रहेका तराईले पारादीप विधानसभा निर्वाचन क्षेत्रबाट उठेका अरिन्दम सार्खेल उर्फ बापी सार्खेलको विरोध गर्दै राजीनामा पत्र पठाएका हुन् ।
सन् २०१६ को नोभेम्बर महिनामा सार्खेललाई व्यापारी महिमा मिश्रसँगै पक्राउ गरिएको थियो । उनी एक कार्यकारी अधिकारी महेन्द्र स्वेनको हत्याको आरोपमा पक्राउ परेका थिए ।
पारादीपका मजदूर नेता सार्खेल विभिन्न विवादमा मुछिएका छन् । सन् २०११ को डिसेम्बर महिनामा उनलाई गाउँलेहरूबीचको झगडामा एक मजदूरको हत्या गरेकोमा पक्राउ गरिएको छ । पोस्को फलाम परियोजना र सार्खेलको यातायात कम्पनीका मजदूरबीच झगडा भएको थियो ।
‘पार्टीले हत्याका आरोपित सार्खेल जस्ता व्यक्तिलाई टिकट दिएकोमा म लज्जान्वित भएको छु । त्यसमाथि कांग्रेसले बिजु जनता दलसँग गोप्य सम्झौता गरेजस्तो देखिन्छ । कमजोर उम्मेदवार उठाएर उसले बीजेडीलाई सजिलो विजय दिने बाटो बनाएको छ,’ तराईले आरोप लगाए ।
त्यसैगरी पिपिली विधानसभा निर्वाचनक्षेत्रबाट उठेका कांग्रेसका वरिष्ठ उम्मेदवार युधिष्ठिर सामन्तरेले चुनाव नलड्ने बताएका छन् । आफ्नो नाम घोषणा गर्न धेरै समय लगाएकोमा असन्तुष्टि प्रकट गर्दै उनले निर्वाचन नलड्ने बताएका हुन् । ‘टिकट वितरण प्रमुख निरञ्जन पटनायकले अरूसँग पैसा खाए अनि मेरो नाम घोषणा गर्न ढिलाइ गरे । यति छोटो समयमा म आफ्नो अभियान सञ्चालन गर्न सक्दिनँ,’ उनले भने ।
सामन्तरे जस्तै तीनपटक मुख्यमन्त्री बनिसकेका जेबी पटनायकले पनि बेगुनिया विधानसभा निर्वाचनको उम्मेदवार बनेको केही घन्टाभित्रै चुनाव नलड्ने घोषणा गरेका छन् । पृथ्वीवल्लभ पटनायकले बेगुनियाबाट चुनाव लड्ने इच्छा
यसअघि देखाएको भए पनि व्यक्तिगत कारणले गर्दा चुनाव नलड्ने निर्णय गरेका हुन् ।
रूर्केला विधानसभा निर्वाचन क्षेत्रबाट उठ्नका लागि पार्टीको टिकट पाएका मुक्तिकान्त बिस्वालले पनि टिकट फिर्ता गरेका छन् । अघिल्लो वर्ष उनी रूर्केलाका विभिन्न मागका साथ नयाँ दिल्लीसम्मको १५ सय किलोमिटर बाटो पदयात्रा गरेर पुगेका थिए ।
फरक घटनाक्रममा कांग्रेसका कैयौं वरिष्ठ नेताहरू लक्ष्मण मेहर, भगवान् बगार्ती र रीना मेहरले विपक्षी नेता नरसिंह मिश्रासँग असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका छन् । एजेन्सी