चेक रिपब्लीकमा खुशीयाली र वाइन चाख्दा ! - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

चेक रिपब्लीकमा खुशीयाली र वाइन चाख्दा !



-डा. प्रकाशराज रेग्मी

उनले सँगै उभिएका डा. ईभानलाई सानो स्वरले सोध्दछन् – “इभान, कति पल्ट टोष्ट उठ्छ र कति रक्सी पिउनु पर्ने हो भन त ।” इभानले ठूला ठूला आँखाले डा. श्याम तर्फ हेर्दै भन्दछन् “हामीले रक्सी पिउन शुर गरेकै छैनौ । यो त कुन घ्याम्पा भित्र कस्तो रक्सी छ त्यो चाखेको मात्र हो । हामी १५ जना छौ, १५ वटा टोष्ट र १५ वटा घ्याम्पा भित्र रहेका रक्सी चाख्छौ, अनि यिनीहरु मध्ये कुन चाही मिठो लाग्छ । बहुमतद्वारा निर्णय गर्दछौं र त्यो रक्सी यहाँबाट किनेर लग्ने छौ अनि मात्र हाम्रो मुख्य कार्यक्रम शुरु हुनेछ । हाम्रो कार्यक्रममा हुने ठाउँ अर्कै हो । यहाँ त रक्सी किन्न मात्र आएको हो र अ‍ैले हामी कुन रक्सी किनेर लाने हो त्यो निर्णय गर्न रक्सी चाख्ने प्रकृयामा छौं ।”

आज शुक्रबार, हप्ताको अन्तिम कार्य दिन । भरे बेलुकी डा. ग्रोखले क्याथ ल्यावका सबै डाक्टरहरु र नर्सहरुलाई उनको जन्म दिन मनाउने समारोहमा निम्त्याएका छन् । हुन त उनको जन्म दिन ४ दिन अगाडी नै परेको थियो तर जन्म दिन मनाउने सहित आज बेलुका परेको छ किनकी भोली पर्सी छुट्टी भएको हुनाले आज रातभर रमाइलो गर्न मिल्छ । आजको समारोहमा डा. ग्रोखले डा. श्यामलाई विशेष निम्ता दिएका छन् । चेक गणतन्त्रमा मानिसहरु कसरी रमाइलो गर्छन् त्यसको अनुभव डा. श्यामले पनि गरुन् भन्ने उनको इच्छा छ ।

बेलुकी ५ बजे क्याथ ल्याबको दैनिक कार्य सकिन्छ । त्यसपछि हतार हतार सबैजना तयार हुन्छन् । यहाँबाट सोझै जन्म दिवस मनाउने ठाउँमा जाने कार्यक्रम छ । सो ठाउँ ब्रनो शहरबाट ५० किलो मिटर टाढा भएको बारे डा. श्यामलाई जानकारी गराईन्छ । डा. ओताले ठूलो ठूलो स्वरमा सबैले सुन्ने गरी भन्दैछन् – “आजको कार्यक्रम डा. श्यामको लािग विशेष महत्वको हुनेछ, उनले हाम्रो क्याथ ल्याव परीवारको सांस्कृतिक जिवन शैली र चेक जनताको रमाइलो मनाउने उच्च स्तरीय तरीकाको प्रत्यक्ष अनुभव गर्नेछन् ।” यति भन्दै उनले डा. श्यामको कुममा बायाँ हातले समाउछन् अनी दायाँ हातको चोर औला उनको मुखै अगाडी ठड्याउदै फेरि भन्न थाल्छन् “हेर श्याम अब हामी जाने ठाउँ अचम्मको छ, डर लाग्दो छ । त्यस माथी हाम्रा नर्सहरु विशेष खतरनाक छन् ! उनीहरुले आक्रमण गर्लान् ! यसको सामना गर्न तिमी तयार हुनु ।” डा. ओताको यो कुरा सुने पछि श्याम छक्क पर्छन् । उनलाई आजको जन्म दिन मनाउने कार्यक्रमबारे बुझ्ने उत्सुकता झन् झन् बढेर आउँछ । पूर्व निर्धारित कार्यक्रम अनुसार आजको रात उतै विताउने र भोली मात्र ब्रनो फर्कने योजना बनाइएको छ । डा. श्यामले मनमनै सोच्छन्, कतै होटल वा रेष्टूँरामा खानपीन र नाच गान गर्ने अनी त्यही सुत्ने होला । राती ढिला हुने भएको हुनाले भोली मात्र फर्कने होला ।

४ वटा कारमा सबैजना अट्छन् । डा. श्याम, डा. ग्रोखले चलाएको कारमा अगाडिको सिटमा बस्छन् । पछाडी पट्टी ३ जना नर्सहरु छन् । मिरा पनि यही छिन् । उनको हातमा गितार छ । उनी आज प्रशन्न मुद्रामा देखिन्छिन् । जिनको कस्सिएको पाइन्ट, जिन कै ज्याकेट र सेतो टिर्सटमा उनी एकदमै आकर्षक देखिएकी छिन् । सबैजनाले वान, टू, थ्रि, गो …. भन्दै कारलाई अगाडी बढाउछन् । कार एउटा ठूलो सुपरमार्केट अगाडी आएर रोकिन्छ । डा. ग्रोख र ३ जना पछाडी बसेका नर्सहरु सुपरमार्केट भित्र पस्दछन् । डा. श्याम पनि उनीहरुकै पछि पछि लाग्दछन् । यहाँ किनमेल गर्ने कार्यक्रम रहेछ । डा. ग्रोख र नर्सहरुले रोजी रोजी प्रशस्त मात्रामा तयारी खाद्य पदार्थ खरीद गर्छन् – सलाद, चिज, ब्रेड, ससेज, माछा, ग्रिल चिकेन, रोष्टेड चिकेन, फलफुल, बियर आदी । किनमेल सके पछि गाडी १४० कि.मी. प्रति घण्टाको गतिमा दौडन्छ । एकै छिनमा एउटा गाउँ आईपुग्छ । चेक गणतन्त्रको मुराभिया क्षेत्रको एउटा सानो गाउँ । ब्रनो शहरका बसिन्दाहरुले यहाँ साना साना विश्राम गृहहरु बनाएका छन् । उनीहरु सप्ताहन्तमा यहाँ विश्राम गर्न आउने गर्छन् । यहाँका बासिन्दाहरुको एउटा ठूलो शौख छ । त्यो हो अंगुरको रक्सी (वाइन) उत्पादन गर्ने वाइन सेल (रक्सी उत्पादन ग्रह) निर्माण गर्ने र त्यहाँ आफ्नै प्रयासद्वारा उत्पादित अंगुरको रक्सीको सेवन गर्ने । यस प्रकारका रक्सी उत्पादन गर्ने वाइन सेलहरु चेक गणतन्त्रमा ५० हजार भन्दा बढी संख्यामा छन् र कतिपय सांस्कृतिक र परम्परागत महत्व भएका वाइन सेलहरुलाई अन्तर्राष्ट्रिय संस्था यूनेस्कोले संरक्षण र प्रोत्साहन प्रदान गरेको छ । यस्ता वाईन सेलहरुमा परम्परागत चेक शैलीमा उच्च कोटीको वाइन उत्पादन गरिन्छ । डाक्टर र नर्सहरु सहित १५ जनाको हाम्रो टोली यूनेस्कोद्वारा संरक्षित यस्तै प्रकारको एउटा वाइन सेल भित्र प्रवेश गर्दछ । जमिनको सतह भन्दा मूनी, ठूला ठूला ३ वटा कोठाहरु, चिसो, मधुरो बत्तिहरु बलेको । एउटा कोठामा अंगूर पेल्ने उपकरण राखिएको छ, अर्को कोठामा काँचो रक्सीका घ्याम्पाहरु छन् र तेस्रो सबै भन्दा ठूलो कोठामा १५–२० वटा जती ५०० लिटर क्षमताका ठूला ठूला काठमा घ्याम्पाहरु छन् जस भित्र तयारी अवस्थाका, विभिन्न प्रकारका अंगुरका रक्सीहरु राखिएका छन् । त्यस वाइन सेलको रक्सी उत्पादकले हामीहरु सबैलाई १०० मिली लिटर क्षमताको सिसाको आकर्षक गिलास हातमा थमाईदिन्छन् र ठूलो कोठाको विचभागमा गोलाकार मिलाएर एक अर्का तर्फ मुख फर्कने गरि उभिन अनुरोध गर्दछन् । त्यसपछि उनले एक अनौठो प्रकारको तल साँगुरिएको र लामो, विचमा फुकेको अनि माथी फेरि साँगुरिएको तर छोटो एक अति आकर्षक सिसाको पाइपलाई वाइन राखिएको घ्याम्पो भित्र डुवाउदै मुखले तानेर रक्सी झिक्दछन् र सबैको गिलास रक्सीले भरि दिन्छन् । रक्सीले भरिएको गिलास समाउदै डा. ओताले पहिलो टोष्ट प्रस्ताव गर्दछन् – डा. ग्रोखको सुस्वास्थ्यको लागी, ह्यापी बर्थ डे टू यू ।” सबैले एकैपल्टमा १०० मिली लिटरको गिलास रित्याउदछन् । यसपछि वाइन उत्पादकले तयही सिसाको पाइपद्वारा अर्को घ्याम्पाबाट रक्सी झिक्दछन् र सबैको गिलास भरिदिन्छन् । यस पल्ट याना सिस्टरले दोस्रो टोष्ट प्रस्ताव गर्दछिन् “डा. ग्रोखको आमाको लागि जसले ग्रोख जस्तो असल छोरालाई जन्माइन् । ह््यापी बर्थ डे टू यू । ” सबैले यो दोस्रो ग्लास रक्सी पनि एकै सासमा पिएर सक्दछन् । डा. श्यामलाई थाहा छैन आज कति रक्सी पिउनु पर्ने हो । उनले सँगै उभिएका डा. ईभानलाई सानो स्वरले सोध्दछन् – “इभान, कति पल्ट टोष्ट उठ्छ र कति रक्सी पिउनु पर्ने हो भन त ।” इभानले ठूला ठूला आँखाले डा. श्याम तर्फ हेर्दै भन्दछन् “हामीले रक्सी पिउन शुर गरेकै छैनौ । यो त कुन घ्याम्पा भित्र कस्तो रक्सी छ त्यो चाखेको मात्र हो । हामी १५ जना छौ, १५ वटा टोष्ट र १५ वटा घ्याम्पा भित्र रहेका रक्सी चाख्छौ, अनि यिनीहरु मध्ये कुन चाही मिठो लाग्छ । बहुमतद्वारा निर्णय गर्दछौं र त्यो रक्सी यहाँबाट किनेर लग्ने छौ अनि मात्र हाम्रो मुख्य कार्यक्रम शुरु हुनेछ । हाम्रो कार्यक्रममा हुने ठाउँ अर्कै हो । यहाँ त रक्सी किन्न मात्र आएको हो र अ‍ैले हामी कुन रक्सी किनेर लाने हो त्यो निर्णय गर्न रक्सी चाख्ने प्रकृयामा छौं ।” इभानका यी कुराहरु सुने पछि श्यामका आँखाहरु आश्चर्यले ठूला ठूला हुन्छन् । आज मरिने भइयो बा बा ! मन मनै उनले सोच्छन् । १ लिटर भन्दा बढी रक्सी चाख्दा चाख्दै र जन्म दिनको टोष्ट उठाउँदै पिउने भइयो । त्यस पछि अझ कति पिउनु पर्ने हो ! डा. श्यामलाई यहाँका मान्छ्हरुको रक्सी पिउन सक्ने क्षमता देखेर अचम्म लाग्छ । चेक गणतन्त्रको यस मुराभिया क्षेत्रमा उच्च स्तरिय अंगुरको खेती हुन्छ । यस्ता वाइन सेलहरु जुन यूनेस्कोद्वारा संरक्षित छन् यहाँ उच्च स्तरिय रक्सीको उत्पादन हुन्छ । रेड वाइन भन्दा ह्वाइट वाइन यहाँको मान्छेहरुले बढी रुचाउछन् । यी वाइनहरुमा अल्कोहलको मात्रा करिव १०% रहेको हुन्छ । महिलाहरुले समेत खुब स्वाद लिईकन यस्तो वाइन पिउने गर्दछन् । घर परिवारमा बाबु आमा छोरा छोरीहरुसँगै बसेर बेलाबखत वाइन पिउने यहाँको परम्परा नै हो । यो पम्परालाई युनेस्को जस्तो विश्वभरिका महत्वपूर्ण सांस्कृतिक सम्पदाहरुलाइ संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाले प्रोत्साहित गरेको छ ।

सबै जनाले पालै पालो जोडी मिलाएर एक अर्कालाई अंगालो मार्ने, म्वाई खाने र नाच्ने गर्दछन् । सबै प्रशन्न छन् । लठ्ठ छन् तर कोही पनि मात्तिएका छैनन् । कसैले पनि कसैमाथि जबरजस्ती गरेका छैनन् तर सबैले सबैलाई पालै पालो अंगालो मार्न र म्वाई खान भ्याएका छन् ।

 

सातौ टोष्ट डा. श्यामले उठाउँदै छन् । सबैजना अत्यन्त प्रशन्न मुद्रामा छन् । इभानले मिराको आकर्षक शरिर र सुन्दर अनुहारमा एकटकले हेरिराखेका छन् । डा. भ्लादिमीरको अनुहार गंभिर देखिए पनि उनी बेला बखत खित्का छोडेर हाँस्ने गरेका छन् । डा. ग्रोखले सबैको ग्लास रक्सीले भरियो कि भरिएन अनी सबैले पुरा ग्लास पिए कि पिएनन् हेर्ने गरेका छन् । उनको चाहना छ आज सबैजना प्रशस्त पिउन, हाँसुन, गाउन् अनी रमाउन । डा. श्यामले टोष्ट प्रस्ताव गर्दै भन्न थाल्छन् –“ म त्यो राष्ट्र, ती जनता र त्यो सामाजिक वातावरणका लागि पिउने प्रस्ताव राख्दछु जसले डा. ग्रोख जस्तो प्रतिभाशाली, कुशल नेतृत्वदायी, वुद्धिमान, दयालु, सहयोगी र वास्तविक अर्थमा एक अत्यन्त असल व्यक्तिको निर्माण ग¥यो, उसलाई हुर्कायो र हाम्रो बिचमा एक आत्मिय मित्रको रुपमा उपस्थित गरायो ।” सबैले वाह वाह भन्दै एकै सासमा गिलास रित्याई दिन्छन् । एवं प्रकारले ८, ९, १० हुँदै १५ पल्ट टोष्ट उठ्दछ र १५ थरिका वाइनहरु चाखिन्छन् । अन्त्यमा डा. ग्रोखले सबैलाई धन्यवाद दिन्छन् र कुन रक्सी सबै भन्दा मिठो लाग्यो हात उठाउ भन्दछन् । १० जनाले डा. श्यामले टोष्ट उठाउँदा पिएको अर्थात नंं ७ को मा हात उठाउँछन् भने ५ जनाले मिराले टोष्ट उठाउँदा खेरीको अर्थात नं. ११ को मा आफ्नो मत दिन्छन् । यस प्रकार १५ जना मध्ये १० जनाको बहुमतबाट ७ नं. को हवाइट वाइन किन्ने निर्णय हुन्छ । ३० लिटर रक्सी खरीद गरेर सबैजना डा. ग्रोखको जन्म दिन मनाउने प्रमूख थलो तर्फ लाग्दछन् । सबैलाई अलि अलि रक्सी लागि सकेको छ । सबै खुशी छन् । करीव १०० मिटर पर एउटा सानो घर हो कि गुफा हो ठम्याउन गाह्रो पर्ने ठाउँमा सबैजना रोकिन्छन् । डा. ग्रोखले एउटा ठूलो साँचोले सो घरको काठको ठूलो मूलद्वार खोल्दछन् र सबैलाई भित्र पस्न अनुरोध गर्दछन् । सम्पूर्ण माटोको, बिजुली बत्ति नभएको, चिसो, छत र भित्ताहरुमा माकुराले जालो हालेको, एक कुनामा आगो बाल्ने ठाउँ (फाएर प्लेस) बनाइएको, बिचमा एउटा ठूलो टेबुल र १५–१६ वटा काठका बनाएका कुर्सीहरु राखिएको, जमिन मुनीको कोठा । “यो पनि अंगुरको रक्सी उत्पादन गरी बर्षौसम्म जम्मा गरि राख्ने (स्टोर गर्ने) कोठा हो । हामी यहाँ बेलाबखत सप्ताहन्त मनाउन आउने गर्दछौ” – डा. ग्रोखले यि शब्दहरु भने पछि बल्ल डा. श्यामले कुरा बुझ्दछन् । यही गुफा जस्तो कोठा भित्र रक्सी पिएर जन्म दिन मनाउने योजनाबारे उनलाई स्पष्ट हुन्छ । क्याथ ल्यावबाट निस्केपछि बाटोको सुपरमार्केटमा किनेको खाद्य पदार्थहरु नर्सहरुले छिटो छिटो टेबुलमा सझाउँदछन् । इभानले आगो बालेर कोठालाई तताउँदछन् । मैन बत्तिको उज्यालोले कोठाको वातावरण रोमाञ्चक बनाइ दिएको छ । सबैजना टेबुलको वरीपरि बस्दछन् । मिरा सिस्टरले गितार झिक्दछिन र गित गाउन थाल्दछिन् । सबैजना वाइन पिउँदै, खाना खाँदै हाँस्छन्, गाउँछन् । मिराले गाएका गीतहरु, लोक गीतहरु, राजनैतिक र राष्ट्रबादी गीतहरु । सबै जनाले मिराको स्वरमा स्वर मिलाउदछन् । सबै जना रक्सी लागेर झम्म र लठ्ठ भैसकेका छन् तर कोही पनि मात्तिएका भने छैनन् । सबै हाँस्छन् मुस्काउछन्, आँखा जुधाउछन् अनी आनन्दको अनुभव गर्छन् । रातको १ बजे सम्म मिराले बजाएको गितारको धूनमा झुम्दै सबैले गीत गाउछन्, खान्छन्, पिउँछन् । गिलास कति पल्ट भरिन्छ र कति पल्ट रित्तिन्छ कसैलाई पनि पत्तो हुँदैन । डा. इभान र डा. ओतालाई सूब नाच्न मन लागि रहेको छ । उनीहरु दुवै जनाको इच्छा छ मिरालाई अंगालो मोरर नाच्ने । तर मिराले गितार समाएर गित गाई रहेको हुनाले उनीहरुलाई यो मौका मिलेको छैन । यसै बीच डा. तेइछ उठेर अव मेरो पालो भन्दै मिरासँगबाट गितार लिन्छन् र अंग्रेजी पप गीतहरु गाउन थाल्छन् । उनले पनि मिराले जस्तै अत्यन्तै मिठो संगीतमा गितार बजाउँदा रहेछन् । उनले प्रख्यात बेलायती संगीत टोली ‘विटल्स’ ले गाएका गीतहरु खूब मज्जासँग गितार झन्काएर गाउँदछन् । बातावरण झन् रमाइलो भएर आउँछ । इभानले डा. ओतालाई उछिन्दै मिरा तर्फ लम्किन्छन् र उनलाई समाएर नाच्न थाल्छन् । इभानको न्यानो अंगालोमा बाँधिन पाउँदा मिरा पनि खूब रमाउछिन् । इभानले मिरालाई छातीमा टाँसेर उनको कोमल गुलाफी ओठहरुमा म्वाई राख्छन् । मिराले पनि इभानलाई जोडसँग समाई रहन्छीन् । नाच्ने र गाउने क्रम चली रहन्छ । सबै जनाले पालै पालो जोडी मिलाएर एक अर्कालाई अंगालो मार्ने, म्वाई खाने र नाच्ने गर्दछन् । सबै प्रशन्न छन् । लठ्ठ छन् तर कोही पनि मात्तिएका छैनन् । कसैले पनि कसैमाथि जबरजस्ती गरेका छैनन् तर सबैले सबैलाई पालै पालो अंगालो मार्न र म्वाई खान भ्याएका छन् । एवं प्रकार विहानको ३ बज्छ । डा. ग्रोखले सबैलाई अब सुत्ने ठाउँ तर्फ जाउँ भनि बोलाउँदछन् । “सुत्नु अगाडी एक महत्वपूर्ण विषयमा डा. ओताले लेक्चर दिने छन् । यो लेक्चर सुन्न कसैले पनि नछुटाउनु नत्र पछि पछुताउनु पर्ला है” यति भन्दै डा. ग्रोखले सबैलाई नजिकैको गेष्ट हाउसमा लग्दछन् । यहाँ सबैका लागि सुत्ने व्यवस्था मिलाईएको छ साथै यहाँ एउटा सानो लेक्चर हल पनि छ । रक्सी पिएर सबै लठ्ठ भैसकेको, नाच्दा नाच्दा थाकिसकेको, साथै निद्रा लागेर आँखा बन्द हुन थालिज्ञ सकेको अवस्थामा डा. ओताले के विषयमा लेक्चर दिने होलान् ! सबैलाई जिज्ञाशा जागेर आउँछ” लेक्चर भोली पर्सी सुने पनि होला आज ढिला भैसक्यो सुत्न जाउँ भनि मिराले प्रस्ताव राख्दछिन् । “यो लेक्चरको महत्व आज यस्तो बेलामा मात्र रहन्छ अरु बेला रहँदैन । डा. ओता केही महिना अगाडी अमेरिकाको एक क्याथ ल्यावमा गएका थिए । उनले त्यहाँबाट केहि स्लाईडहरु पनि ल्याएका छन् । हामीले ती स्लाईडहरु पनि हेरौं र उनले के भन्छन् सुनौं ” डा. ग्रोखको अनुरोध सबैले इच्छा नभई नभई स्विकार्दछन् ।

 

सबैजना लेक्चर कोठामा जम्मा भएका छन् । डा. ओताले पहिलो स्लाईड देखाउछन् र भन्न थाल्छन “आजको लेक्चरको विषय हो क्याथ फेमिली सेक्स ।” अर्थात उनले पूर्ण यौन स्वतन्त्रता भएको एक विकसित र शिक्षित समाजमा श्रीमान र श्रीमती बीच भन्दा बाहिरको सम्बन्धमा विशेष गरि क्याथ ल्याव परिवार भित्र हुन सक्ने स्वस्थ्य यौन सम्पर्कको बारेमा बोल्न चाहिरहेका छन् । विषय साच्चै नै समय र परिस्थिती अनुकूल छ तर बोल्ने र सुन्ने सबै झुम्म परिसकेका छन् । डा. ओताले आफुले के के बोले त्यो उनलाई सम्झना छैन अनी लेक्चर कोठामा बसेर सुन्ने अन्य डाक्टर र नर्सहरुले के के सुने त्यो पनि उनीहरुलाई केही सम्झना छैन । यो बुझ्नको लागि सुनाइएको लेक्चर पनि होइन । बस् यो एक रमाइलो सम्झनाका लागि मात्र आयोजना गरिएको हो । डा. ओताले बोलेर सक्दा सम्म सबैजना टेबुलमा टाउको विसाएर त्यही मस्तसंग निदाई सकेका हुन्छन् । डा. ग्रोखको जन्म दिनको विशेष कार्यक्रमको अन्त त्यही लेक्चर कोठा भित्र हुन्छ जहाँ हृदयघातको पीडाले छटपटाएर मृत्युको मुखमा पुगेको व्यक्तिलाई जिवनदान दिने महत्वपूर्ण व्यक्तिहरुको समूह रक्सीले लठ्ठीएर निदाई रहेको हुन्छ ।

 

  • मुटुरोग बिशेषज्ञ डा. रेग्मीका थुप्रै पुस्तक प्रकाशित छन् |