गरिबलाई ७२ हजार दिने राहुलको घोषणा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

गरिबलाई ७२ हजार दिने राहुलको घोषणा



नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए ।

गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए ।

उनले भने, ‘गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौं ।’

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे ।
उनले भने, ‘अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ ।’

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए । यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् ।